‘बिहे नेपाल’ले तपाईंलाई जीवनसाथी कसरी खोजिदिन्छ ?

उज्यालो खबर मुख्य खबर

प्रविधिको बढ्दो प्रयोगले एउटा मोबाइल फोनबाट‌ अनेक काम सहज र सरल बनाइदिएको छ। यसले अनलाइन सपिङ, डिजिटल कारोबार, इ-कमर्स लगायत प्लेटफर्महरू बिस्तारै फस्टाउँदै गइरहेका छन्। 

मानिसहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै एकपछि अर्को एप थपिइरहेका छन्। यिनले दैनिकी मात्र होइन, सानाठूला काम सहजीकरण गरिदिएको छ। यसैबीच मोबाइल एपबाटै जोडी जुराइदिने ‘बिहे नेपाल’ एप सञ्चालनमा आएको छ।

यो एपले बिहे गर्न र डेटिङ जान चाहनेहरूका लागि जोडी मिलाइदिने काम गर्छ। त्यति मात्र होइन, आफूलाई मनपर्ने मान्छे खोजेर र छानेर कुराकानी अगाडि बढाउन सकिन्छ।

संसारका कैंयन देशमा यस्ता एप पहिल्यैदेखि सञ्चालनमा छन्। नेपालमा पनि केही एप सार्वजनिक भइसके। त्यसैबीच बिहे नेपालमा सार्वजनिक भएको हो। यो एप सञ्चालनमा आएको एक महिना मात्र भयो।

यो एप दुई दिदीबहिनी श्रेया र श्रद्धा कटुवालले सञ्चालनमा ल्याएका हुन्।

न्युजिल्यान्डबाट सिभिल इञ्जिनियरिङमा स्नातकोत्तर पूरा गरेर फर्किएकी श्रद्धा र सफ्टवेयर इञ्जिनियरिङ गरेकी श्रेयाले बिहे नेपाल सञ्चालनमा ल्याएका हुन्। करिब एक वर्षको मेहनतपछि बिहे नेपाल सञ्चालनमा ल्याएको कम्पनीकी सह-संस्थापक श्रेया (बहिनी) बताउँछिन्।

बिहे नेपाल अर्थात्, जोडी मिलाइदिने एप खोल्ने योजना उनीहरूले पहिल्यैदेखि बनाएका होइनन्। श्रेयाले सफ्टवेयर इञ्जियरिङ पढ्दै गर्दा कलेजको प्रोजेक्ट वर्कका लागि एप बनाउनुपर्ने थियो। त्यसका लागि उनले आफ्नी आमा र उनका समूहमा रहेका केही साथीसँग सल्लाह गरिन्।

‘कस्तो खाले एप बनाउने भन्ने अन्यौल थियो। त्यति नै बेला आमाले जोडी मिलाइदिने एप बनाउन सल्लाह दिनुभयो,’ श्रेयाले सेतोपाटीसँगको कुराकानीमा भनिन्, ‘त्यहीअनुसार मेरो जोडी नामको एप बनाएका थियौं।’

मेरो जोडीबाटै उनले कलेजमा प्रस्तुति दिइन्। जोडी मिलाइदिने, खोजिदिने भन्ने भएपछि धेरैले जिस्क्याए पनि।

‘त्यति बेला कलेजमा प्रस्तुति गर्न समेत अप्ठ्यारो लागेको थियो। सबै जनाले जिस्क्याउनु भयो। पछि व्यावसायिक रूपमै एप बजारमा ल्याउन सकिन्छ भनेर सोचेकै थिइनँ,’ उनले थपिन्।

श्रेयाले स्नात्तक तह पूरा गरिन्। त्यो एप यत्तिकै थियो। दिदी श्रद्धाले पनि न्युजिल्यान्डबाट फर्केर एउटा सफ्टवेयर कम्पनीमा काम गर्न थालिन्। तर दिदीबहिनी केही नयाँ काम गर्न चाहन्थे। आइडिया चाहिँ फुरेको थिएन।

परिवारसँग सल्लाह गरे। कलेजमा प्रोजेक्टका लागि गरिएको ‘मेरो जोडी’ लाई नै व्यावसायिक रूपमा परिणत गराउने योजना उनकी आमाले नै ल्याइन्। श्रेयाका अनुसार सबै कुरा डिजिटल माध्यममा भइरहेका बेला जोडी खोज्ने काम पनि प्रविधिमा लैजान सकिन्छ कि भन्ने विषयमा उनीहरूको घर सल्लाह भएको थियो।

त्यसपछि दिदीबहिनीलाई एउटै काम गर्न उनकी आमाले सुझाइन्। अनि यही सल्लाहले सुरू भएको हो बिहे नेपाल।

सामान्यतया बिहेका लागि आफन्त छरछिमेक र चिनजानका मानिससँग कुरा गर्ने र मिलिहाले बिहे गर्ने चलन छ। त्यस्तै बिहे गर्न धेरैजसो लमीको प्रयोग पनि भइरहेको हुन्छ।  

पछिल्लो समय सामाजिक सञ्जालमा साथी बन्ने, चिनजान गर्ने, फोनवार्ता, च्याट हुँदै भेट्ने र चित्त बुझे बिहे गर्नेहरू पनि छन्। बिहे नेपाल एपमा भने बिहे तथा डेटिङकै लागि भनेर अकाउन्ट खोल्न र मिल्ने जोडी खोज्न सकिन्छ।

‘बिस्तारै हामी आधुनिकतातिर आइसकेका छौं। पहिले चिनजान गरौं, त्यसपछि बिहे गरौं भन्ने चलन छ। प्रविधिमैत्री समयको सदुपयोग गर्दै बजारमा देखिएको अभावलाई हामीले ल्याएका हौं,’ सह-संस्थापक श्रद्धा (दिदी) ले भनिन्।

उनीहरूका अनुसार एक महिना अवधिमा २५ हजारभन्दा बढी मानिसले एप डाउनलोड गरिसकेका छन्। यो एप सार्वजनिक भएदेखि नै डाउनलोड गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको उनीहरू बताउँछन्।

डाउनलोड, अकाउन्टदेखि आफूलाई मनपर्ने मानिसहरू एकआपसमा कुराकानी गरिरहेका छन्। त्यति मात्र होइन, केही जोडी त डेटिङ पनि गइसकेका उनीहरू बताउँछन्।

‘एपमा नजिकका साथीहरू पनि जोडिनुभएको छ। उहाँहरूले सुनाएअनुसार केही प्रयोगकर्ता डेटिङ पनि जानुभयो रे। एपबाटै कुराकानी भएर बिहे नै भइसकेको चाहिँ छैन,’ श्रद्धाले हाँस्दै सुनाइन्, ‘हामीलाई यो सुन्दा खुसी लागेको छ।

उनका अनुसार एप चलाउनेमध्ये अहिलेसम्म पुरुषहरू बढी छन्। एप सञ्चालनमा आएदेखि नै पुरुषको संख्या बढेको थियो। महिलाहरूले सजिलै आफ्नो परिचय खुलाउन नचाहेकाले पनि संख्या कम भएको उनीहरूको अनुमान छ।

एपमा १८ वर्षभन्दा माथिका युवायुवती जोडिन सक्छन्। विवाह वा आफ्नो जीवनसाथीको खोजीमा आउने मान्छेहरू देशविदेश जुनसुकै कुनाबाट पनि जोडिएका छन्। एपमा नेपाल बाहिरका प्रयोगकर्ताहरू पनि छन्। फ्रान्स, कोरिया, युएई लगायत मुलुकबाट बिहे नेपाल प्रयोग गर्नेहरू रहेको श्रेया बताउँछिन्।

‘तपाईंले एप डाउलोड गरेर सिधै बिहेका लागि कुरा गर्नुपर्छ भन्ने छैन। सुरूमा साथी मात्र बन्न चाहनुहुन्छ भने साथी बन्ने विकल्प पनि छ। डेटिङ नै गर्न एपमा आउनु हुन्छ भने डेटिङ अप्सन पनि छ। र विवाहकै लागि हो भने पनि त्यहीअनुसार जोडी खोज्न सक्नुहुन्छ,’ श्रेयाले जानकारी दिइन्।

उनीहरूका अनुसार बिहे नेपाल एप खोलेर जोडी खोज्न चाहनेले व्यक्तिगत अकाउन्ट बनाउनुपर्ने हुन्छ। प्रयोगकर्ताले यो एपमार्फत जोडिन वास्तविक परिचय दिने नागरिकता वा चालक अनुमति पत्र उपलब्ध गराउनुपर्नेछ।

बिहे नेपालले यी परिचयपत्रको आधारमा पहिचान प्रमाणित गर्छ। प्रमाणित प्रोफाइलहरूले हरियो संकेत चिह्न पाउने छन्। त्यसपछि आफूले चाहेको व्यक्तिसँग कुराकानी गर्न र वैवाहिक सम्बन्ध गाँस्ने निर्णयसम्म पुग्न सक्ने छन्।

एपमा बस्न नचाहने वा जोडी पाइसकेको अवस्थामा सजिलै आफ्नो अकाउन्टमा गएर अकाउन्ट डिलिट गरी हटाउन पनि सकिन्छ। हालका लागि यो एप प्रयोग गर्दा कुनै शुल्क लाग्दैन।

यसरी व्यस्त जीवनमा आफ्नो जोडी खोज्न समस्या भोगेकाहरूका लागि यो एप सहयोगी बन्ने श्रद्धा बताउँछिन्।

उनीहरूले सामान्यभन्दा केही फरक विशेषतासहित भिआइपी क्लब पनि ल्याउने तयारीमा छन्। भिआइपी क्लब चलाउन भने प्रयोगकर्ताले ४९ हजार रूपैयाँ तिर्नुपर्ने उनले जानकारी दिइन्।

‘भिआइपी क्लबको तयारी गरिरहेको छौं। निश्चित रकम तिरेर भिआइपीमा बस्न धेरै जनाले इच्छा देखाउनुभएको छ। यो पनि प्रभावकारी बन्छ भन्ने लागेको छ,’ श्रद्धाले भनिन्।

बिहे नेपालका उनीहरूले ४० लाख रूपैयाँभन्दा बढी लगानी गरेका छन्। आगामी दिनमा बिहे गर्न बिहे नेपाल राम्रो प्लेटफर्म बन्ने र देश-विदेशबाट आफूलाई सुहाउने जोडी खोज्न प्रयोग बढ्ने विश्वास यी दिदीबहिनीले राखेका छन्। यसका लागि एपमा थप विशेषता र सुविधा थप्दै लैजाने उनीहरू बताउँछन्।

यो खवरसेतोपाटी मा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *