निखिल उप्रेतीले भने, मुलुकमा हिन्दू धर्म, संस्कृति र परम्परा हराउदै गयो ! 

उज्यालो खबर मुख्य खबर

वीरगञ्ज (पर्सा) । अभिनेता एवं समबोधी फाउन्डेशनका अध्यक्ष निखिल उप्रेतीले अहिले मुलुकमा हिन्दू धर्म, संस्कृति र परम्परा हराउदै गएको बताएका छन् । वीरगञ्जस्थित जैन धर्मशालामा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित ‘प्रबुद्व नागरिक गोष्ठी एवम साहित्य परिचय’ कार्यक्रमको उद्घाटन गर्दै अभिनेता उप्रेतीले हिन्दू धर्मलाई समाप्त पार्न युवा पिँडीको प्रयोगसमेत भइरहेको बताए ।

यसका साथै उनले आफ्नो धर्मको रक्षा गर्नका लागि सबै एक्यबद्ध हुनुपर्ने बेला आएको कुरामा जोड दिएका छन् । उनले अब राजनीतिक कुरा नउठेसम्म हिन्दू धर्मको रक्षा हुने नसक्ने पनि बताएका छन् । एक धार्मिक व्यक्तिले अधार्मिक व्यक्तिलाई कहिल्यैपनि नेतृत्वकर्ताको रुपमा स्वीकार गर्न नसक्ने उनको भनाइ थियो ।

उनले सबैलाई एकपटक ग्रन्थ पढ्न आग्रह पनि गरेका छन् । कार्यक्रममा राजनीतिक विश्लेषक डा. देवेश झाले मुलुकमा धर्मनिरपेक्षताको नाममा हिन्दू धर्म समाप्त पार्ने सड्यन्त्र भइरहकोले यसको संरक्षण गर्न आवश्यक रहेको बताए ।

उनले हिन्दू धर्म आफूहरुको पहिचान भएकोे बताउँदै समयमै नेपाल हिन्दू राष्ट्र कायम हुन नसके यसको अस्तित्व नै समाप्त हुने भन्दै चिन्ता व्यक्त गरे । उनले राष्ट्रको हजारौं बर्ष पुरानो विशिष्ट पहिचान हिन्दुत्व नै रहेकोले यसको संरक्षण गर्न आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक बैद्यले विश्वको एक मात्र नेपाल हिन्दू राष्ट्र भएकोमा यसको पहिचान समेत देशका नेताहरुले मास्ने काम गरेको आरोप लगाए । उनले विदेशीको ईसारमा आर्थिक प्रलोभनमा नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेको भन्दै आक्रोश व्यक्त गरे ।

वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा समाजसेवी तथा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्य, हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानका केन्द्रीय सदस्य देवेश झा, बजरङ्गी दास र अभियानका जिल्ला संयोजक सत्रुधन गिरी, नेपाली कांगे्रसकी नेतृ डा.सुषमा द्विवेदी, लोसपाकी नेतृ रम्भा मिश्र लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यो खवर आजको news24 मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *