ठूलो संख्याको रुसी सेना, युक्रेनी राजधानी किभ नजिकै पुग्यो

उज्यालो खबर मुख्य खबर

एजेन्सी । युक्रेनमा आक्रमण गरेको दुई सातापछि रुसी सेना युक्रेनी राजधानी किभ नजिकै पुगेका छन् ।

युद्ध शुरु भएको पहिलो साता नै ठूलो संख्यामा किभतर्फ अघि बढेको रुसी फौज बीचमै रोकिएको थियो । बिहीबार रातिदेखि भने रुसी फौज किभतर्फ अघि बढेको र राजधानी भन्दा पाँच किलोमिटर मात्रै पर रोकिएको जनाइएको छ ।

रुसी सेना युक्रेनको राजधानी शहर किभको पाँच किलोमिटर नजिक पुगेको अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् । पछिल्लो २४ घण्टामा रुसी सेना युक्रेनको राजधानीको नजिकै पुगेको उनीहरुको भनाइ छ ।

युक्रेनको उत्तर-पश्चिमबाट राजधानीतर्फ आइरहेको रुसी सेना राजधानीको केन्द्रभन्दा अब केवल १५ किलोमिटर टाढा छन् । रुसी सेना किभभन्दा करिब ४० किलोमिटर टाढाबाट उक्त स्थानसम्म आइपुगेको अधिकारीहरुले बताएका छन् । युक्रेनको उत्तरी शहर चेर्निहिभ अहिले अन्य भागबाट एक्लिएको उनीहरुको भनाइ छ ।

रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण शुरु गरेयता अहिलेसम्म ७७५ मिसाइल प्रहार गरिरहेको छ । उसले सबै किसिमको मिसाइल प्रहार गरेको छ । बिहीबार किभका मेयरले अहिले राजधानी शहर सशस्त्र आम नागरिकले रक्षा गरिरहेको बताएका थिए । उनले किभमा आफूहरुको बलियो पकड रहेको बताएका थिए ।

किभतर्फ अघि बढेको रुसी फौजको रुटमा युक्रेनी सेनाले अवरोध गर्ने अनुमान गरिए पनि अहिलेसम्म त्यसो हुन सकेको छैन । रुसी फौज किभतर्फ अघि बढ्दै गर्दा विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुले मानवीय संकट उत्पन्न हुनेतर्फ चिन्ता ब्यक्त गरेका छन् । रेडक्रसलगायतका संस्थाहरुले किभमा ठूलो संख्यामा रुसी फौज उपस्थित भएपछिको अवस्था भयावह हुनसक्ने भन्दै चिन्ता ब्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *