रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगे

उज्यालो खबर मुख्य खबर

लन्डन : रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै  जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिए।

समितिका अनुसार मंगलबारसम्म  २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका हुन् । यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरुलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो  ।
बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले रुसमा रहेका नेपालीहरुले समेत नियमित रुपमा युक्रेनमा रहेका नेपालीहरुसँग सम्पर्क रहेको जानकारी दिए।

उनले एनआरएनएका राष्ट्रिय समितिहरु उद्धार कार्यमा सक्रिय रुपमा लागि परेको जानकारी दिँदै  एनआरएनए पोल्याण्डको सक्रियतामा आर्थिक सहयोग संकलनको तयारी थालिएको जनाए।

रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी केभमा रहेका सम्पूर्ण नेपालीहरुले युक्रेन छोडेको जानकारी दिए। । उनले पछिल्लो समयमा रुसमा रहेका नेपाली विधार्थीहरु चिन्तित भएर दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिए।

 उनले पश्चिमी मुलुकहरुले रुससँगको हवाई उडानमा प्रतिबन्ध लगाएका कारणले रुसमा बस्ने नेपालीहरुमा समेत संसय थपिएको बताए। बैठकमा स्वास्थ्य समितिका संयोजक डा.बोध सुवेदीले  गैरआवासीय नेपाली संघले अप्ठ्यारामा परेका नेपालीलाई खाना बस्नको व्यवस्था गरेको जानकारी दिए। सुवेदीले युक्रेनमा रहेका नेपालीहरुको संख्या सोचे भन्दा अझ बढी हुनसक्ने बताए।

समितिका सदस्य सचिव चिरन्जीबी खड्काले बैठकमा नेपालहरुको उद्धारको लागि सीमा क्षेत्रमा खटिएको अनुभव सुनाएका थिए । उनले अत्याधिक चिसोका कारणले युद्ध पीडित नेपालीहरु थप समस्यामा रहेको जानकारी दिए।

एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले नेपालीहरुलाई खाना बस्ने र परिचयपत्रलगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जनाकारी दिए। उनले अलपत्र परेर त्यहाँ पुगेका नेपालीहरुले आफ्नो संजाल बनाएर एक अर्कालाई सहयोग गरेको बताए । उनले युद्ध पीडित नेपालीहरुलाई आर्थिक अभाव रहेको बताए। । उनले आफ्नै रेष्टुरेन्ट खाली गरेर १६ जना नेपालीहरुका लागि बस्न र  खानाको व्यवस्था गरेको जानकारी दिए।

रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले नवराज पोखरेलले रोमानियमा आएका २३ जना नेपाली सुरक्षित गन्तव्य तिर लागेको जानकारी दिए । केही  नेपालीहरु अन्जानमा हंगेरीको सीमामा पुग्दा  अलपत्र परेको समेत उनले बताए।

बैठकमा गैरआवासीय नेपाली संघ चेक रिपब्लिकका अध्यक्ष यदु पन्थी, सुरेन्द्र श्रेष्ठ (हङग्रेरी), सन्तोष भट्राई (जर्मनी) सोनाम शेर्पा (स्लोभाकिया), संजय कार्की (हङगेरी), निलम आचार्य (जर्मनी) लगायतले आफ्नो भनाइ राखेका थिए।
 
बैठकमा युक्रेनको युद्धबाट ४ दिन हिँडेर बाचेका दाङका विक्रम खड्काले युद्धमा परेका बेला सामना गरेको कठिनाइ सुनाए।  यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त युद्ध पीडितको उद्धारका लागि सोमबारदेखि पोल्याण्डको सीमा क्षेत्रमा आफै खटिएका छन्।

नेपाली राजदूत र खड्का बुधबारदेखि सीमा क्षेत्रमा आफै खटिएर नेपालीहरुको उद्धार गर्ने तयारीमा लागेको  रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *