काठमाडौं : कतारविरुद्धको तीन खेलको टीट्वेन्टी क्रिकेट शृंखला नेपालले क्लिन स्विप गरेको छ । आज (बिहीबार) भएको तेस्रो तथा अन्तिम खेलमा कतारलाई १ सय ९ रनले पराजित गर्दै नेपालले सानदार क्लिन स्वीप गरेको हो ।
नेपालले मंगलबार भएको पहिलो खेलमा कतारलाई १ सय १९ रनले पराजित गरेको थियो । बुधबार भएको दोस्रो खेलमा नेपालले कतारलाई ६१ रनले पराजित गर्दै एक खेल बाँकी छँदै शृंखला जितेको थियो ।
बिहीबार कतारको दोहास्थित वेस्ट एन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले १ सय ६५ रनको लक्ष्य दिएको थियो । कतारले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ५५ रन मात्र जोड्यो ।
कतारको लागि अलिना खानले सर्वाधिक १९ रन बनाइन् । त्यस्तै
कप्तान आयशाले १३, हिरल अग्रवालले ६ रन जोडिन् । नेपालका सबनम राई, सरस्वतीकुमारी चौधरी र कप्तान रुबिना क्षत्रीले एक÷एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । नेपालको लागि
सीता रानामगरले ८२, ज्योति पाण्डेले २४, सरिता मगरले १७, डोली भट्टले १२ र काजल श्रेष्ठले सात रन जोडेकी थिइन् । कतारकी एन्जेलिन मरे, साची ढाडवाल र कप्तान आयशाले एक(एक विकेट लिए ।