समाचारदाता
नेपालगन्ज । बर्दियाको बारबर्दिया नगरपालिकाका कोभिड १९ प्रभावित विपन्नलाई बाँके युनेस्को क्लबले प्रिपेड कार्ड मार्फत प्रदान गरेको सहयोगले धेरै राहात मिलेको पाईएको छ ।
प्लान नेपालको आर्थिक सहयोगमा बर्दियामा सञ्चालन गरिएको रिजिलियन्स प्लस कार्यक्रम अन्तर्गत बारबर्दिया नगरपालिकाको वडा नम्बर ३ र ११ का अति प्रभावित विपन्नलाई वितरण गरिएको सहयोगले उनिहरुको जीवनयापनमा ठुलो सहयोग मिलेको पाईएको हो ।
सो कार्यक्रमको बुधवार गरिएको संयुक्त अनुगमनमा उक्त सहयोगले अति प्रभावित विपन्नलाई जिवनयापनमा धेरै सहज बनाएको नगरपालिकाका जनप्रतिनिधी र प्रभावितहरुले बताएका छन् ।

कोभिड १९ का कारण अत्याधिक प्रभावित भै समस्यामा परेका बारबर्दिया ३ का २०७ र वडा नम्बर ११ का २०९ अतिविपन्न परिवार गरेर ४१६ परिवारलाई आधारभूत खाद्य र अन्य आवश्यकताका लागि पहिलो किस्ता वापत प्रति परिवार १० हजार २५० रुपियाँ बराबरको सहयोग गरिएको थियो । सोही बराबरको सहयोग एक महिनापछि दोस्रो किस्तामा पनि प्रदान गरिने क्लबले जनाएको छ ।
अनुगमनका क्रममा बारबर्दिया नगरपालिकाका उप प्रमुख अन्जु दहितले क्लबले गरेको सहयोगबाट कोभिड प्रभावित परिवारलाई जिविकोपार्जनमा धेरै सहज भएको जनाउँदै सो सहयोगले उनिहरुले आफुलाई आत्मनिर्भर बनाउन अवसर प्रदान गरेको बताउनुभयो ।
उहाँले सो कार्यक्रम निकै राम्रो रहेको जनाउँदै अन्य वडाहरुमा पनि सञ्चालन गर्न आग्रह गर्नुभयो ।

सोही प्रकारले वडा नम्बर ३ का वडा अध्यक्ष लक्ष्मी क्षेत्री र वडा नम्बर ११ का वडा अध्यक्ष विजय चौधरीले क्लबले प्रिपेड कार्ड मार्फत प्रदान गरेको सो सहयोगले विपन्न परिवारमा खुशियाली ल्याएको बताउनुभयो ।
अनुगमनको क्रममा अनुगमन टोलीले प्रभावितलाई सहयोग सामाग्री उपलब्ध गराउने बारबर्दियाका भेन्डरहरु न्यु भट्टराई किराना पसल, सदाशिव हार्डवेयर र पन्थ बस्त्रालय पुगेर सामाग्री वितरण बारे जानकारी लिनुका साथै प्रभावितहरुसंग पनि सहयोगले पुर्याएको सहजता बारे जानकारी लिएको थियो ।

सहयोग सामाग्री लिन आउनु भएका वडा नम्बर ३ का बिमला थारुले यो सहयोगले आफ्नो परिवारको गुजारा चलाउन निकै मद्दत गरेको बताउनुभयो । उहाँले यसले जिविकालाई पहिलेकै अवस्थामा ल्याउन पनि मद्दत गरिरहेको जनाउनु भएको थियो ।
यस्तै सहयोग सामाग्री लिन आएका वडा नम्बर ३ का कोभिड अतिप्रभावित मोतिराम थारु, सहेबु थारु र चुन्दिया थारुले पनि यो सहयोगले जिविकोपार्जनमा ठुलो काम गरेको बताएका थिए ।

अनुगमन टोलीमा बारबर्दिया नगरपालिकाका उप प्रमुख अन्जु दहित, वडा नम्बर ३ र ११ का वडा अध्यक्षहरु लक्ष्मी घर्ति क्षेत्री र विजय चौधरी, बारबर्दियास्तरीय विपद व्यवस्थापन समितिका संयोजक टेक बहादुर विक, बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दिकी, कार्यक्रम संयोजक दयाराम चौधरी, कार्यक्रम अधिकृत माया चौधरी र पत्रकारहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रमको दोस्रो चरणमा राजापुर नगरपालिकाको वडा नम्बर १ र २ तथा बारबर्दिया नगरपालिकाको वडा नम्बर ३ र ११ मा वडा कार्यालयहरुको समन्वयमा अतिप्रभावित तथा अतिविपन्नको छनोट गरि ८३३ घर परिवारलाई पहिलो किस्ता सहयोग वितरण गरिएको थियो ।

छनोटमा परेका परिवारलाई पहिलो किस्ता वापत प्रति परिवार १० हजार २५० रुपियाँ बराबरको प्रिपेड कार्ड वितरण गरिएको र सोही कार्ड देखाएर उनिहरुले उक्त बराबरको खाद्य लगायत अन्य सहयोग तोकिएको भेन्डरबाट प्राप्त गर्नेछन् । दोस्रो किस्ता एक महिनापछि उपलब्ध गराइने छ ।
कार्यक्रमको पहिलो चरणमा दुबै नगरपालिकाका चारवटा वडाका ८८९ घरपरिवारलाई सहयोग प्रदान गरिएको थियो ।