२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

६ चैत २०८२, शुक्रबार /काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा शिवनारायण मण्डल दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले मण्डललाई भ्रष्टाचारी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।

शिवनारायण मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट सन् १९८३ मा माध्यमिक तह (एसएलसी सरह) उत्तीर्ण गरेको भनी रोल नं। ६२–७–३६० उल्लेख भएको शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । सोही प्रमाणपत्रका आधारमा उनले २०५३ साउन १ गतेदेखि द्वितीय श्रेणीको ‘सब–ओभरसियर’ पदमा स्थायी नियुक्ति लिएका थिए ।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमार्फत उक्त प्रमाणपत्रको आधिकारिकता जाँच गर्दा बिहार विद्यालय परीक्षा समितिले सो रोल नम्बर भएको प्रमाणपत्र अर्कै व्यक्तिको नाममा रहेको र मण्डलको नाम अभिलेखमा नदेखिएको जानकारी पठाएको थियो ।

अदालतमा बयान दिँदा समेत मण्डलले प्रतिवेदनको खण्डन गर्न नसकेपछि अदालतले उनलाई दोषी ठहर गरेको हो ।

६ चैत २०८२, शुक्रबार /काठमाडौँ । हंगेरीले युक्रेनलाई युरोपेली संघ मार्फत उपलब्ध गराइने ९० अर्ब युरो बराबरको प्रस्तावित सैन्य ऋण स्वीकृत नगर्ने आफ्नो अडान पुनः दोहोर्‍याएको छ।

ब्रसेल्समा सम्पन्न ईयू शिखर सम्मेलनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले उक्त ऋण प्रस्ताव रोक्न आफ्नो देशसँग कानुनी अधिकार रहेको स्पष्ट पारे। उनका अनुसार युक्रेनले ‘द्रुज्बा’ पाइपलाइनमार्फत हुने रुसी तेल आपूर्तिमा लगाएको प्रतिबन्ध हटाएपछि मात्रै हंगेरीले सहमति दिन सक्नेछ।

यसअघि सन् २०२५ डिसेम्बरमा ईयू परिषद्ले उक्त कोष विनियोजन गर्ने निर्णय गर्दा हंगेरी, स्लोभाकिया र चेक गणतन्त्रले प्रत्यक्ष सहभागिता नगर्ने तर अन्य सदस्य राष्ट्रलाई अवरोध नगर्ने धारणा सार्वजनिक गरेका थिए।

तर, यस्तो प्रकारको वित्तीय निर्णयका लागि सबै सदस्य राष्ट्रहरूको सर्वसम्मत समर्थन आवश्यक हुने प्रावधानका कारण हंगेरी र स्लोभाकियाको असहमतिले प्रस्तावित ऋण प्रक्रिया हाल अन्योलमा परेको छ।

६ चैत २०८२, शुक्रबार /काठमाडौँ । महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौता पत्रमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार महानगरले अस्पताललाई रु ३० लाख प्रदान गर्नेछ । विशेषज्ञ चिकित्सकबाट कम्तीमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीको आँखा जाँच तथा आवश्यकताअनुसार औषधि र चस्मा पनि प्रदान गर्नुपर्नेछ ।

६ चैत २०८२, शुक्रबार/ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई भोट नदिएका केन्द्रीय सदस्य र जनवर्गीय संगठनका नेताहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा विहीबार आयोजित बैठकमा प्रचण्डले भनेका छन्, ‘५० प्रतिशत भोट रास्वपाको चुनाव चिह्न घन्टीमा गएको जनरल रिपोर्ट आएको छ। कसले भोट हालेन, को घण्टीतिर गएको, त्यो रिपोर्ट तपाईंहरूले दिनैपर्छ। तिनलाई कारबाही गर्नैपर्छ, नत्र पार्टी बनाउन सकिँदैन।’

साथै पार्टी पुनर्गठनको सुरुवात यहीँबाट हुने बताउँदै उनले कारबाही सबैभन्दा पहिला केन्द्रीय सदस्यबाट सुरु हुने बताएका छन् । ‘ठोस रिपोर्ट ल्याउनुहोस्, कसले हालेन, को घण्टीतिर गएको देखियो, तिनलाई आँखा चिम्लेर कारबाही गर्छौं,’ उनले भने ।

जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दुई दर्जन बढी कम्युनिस्ट घटक एकता गरी गठन गरिएको नेपाली कम्युनिस्ट पार्टीले सार्वजनिक रूपमा सबैभन्दा ठूलो दल बन्ने लक्ष्य राखेको थियो। तर फागुन २१ को निर्वाचनमा रास्वपाले १२५ सिट जित्दा नेपाली कम्युनिस्ट पार्टी मात्र ८ सिटमा सीमित भएको छ ।

६ चैत २०८२, शुक्रबार /काठमाडौं ।नेपाल जेन–जी फ्रन्टले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको भर्त्सना गरेको छ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै फ्रन्टले बिहीबार माइतीघर मण्डलमा जारी शान्तिपूर्ण प्रदर्शनका क्रममा बममाथि भएको दुर्व्यवहार एक सभ्य लोकतान्त्रिक समाजका लागि असह्य रहेको बताएको छ।

गत भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेन–जी समूहहरूले विगत केही समयदेखि माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएका छन्।

सहिद र घाइतेहरूको बलिदानीप्रतिको सामूहिक दायित्व बोध गर्दै शान्तिपूर्ण रूपमा आवाज उठाइरहेको अवस्थामा आन्दोलनकारीमाथि नै प्रहार हुनु निन्दनीय रहेको फ्रन्टको ठहर छ।

विज्ञप्तिमा संयोजक रक्षा बमलाई आन्दोलनको सुरुवाती क्षणदेखि नै विचलित नभई लोकतान्त्रिक मूल्य र मान्यताको पक्षमा उत्रिने एक निडर नेतृत्वका रूपमा चित्रण गरिएको छ। आन्दोलनभित्र रहने असहमति, पीडा र आक्रोश स्वाभाविक भए पनि त्यसको निशाना आन्दोलनकारी नभई राज्य हुनुपर्नेमा फ्रन्टले जोड दिएको छ।

राज्यले अझैसम्म सत्य लुकाएर प्रतिवेदन सार्वजनिक नगरेको अवस्थामा आफ्नै साथीहरूमाथि हुने दुर्व्यवहारले आन्दोलनलाई कमजोर बनाउने चेतावनी समेत दिइएको छ।
नेपाल जेन–जी फ्रन्टले यस्ता अवरोध र आक्रमणबाट आफ्नो प्रतिबद्धता र मनोबल कत्ति पनि विचलित नहुने स्पष्ट पारेको छ।

६ चैत २०८२, शुक्रबार/ काठमाडौं । ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख स्वास्थ्य दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ ।

विश्व स्वास्थ्य सङ्गठनका साथै दन्त विशेषज्ञहरूले दाँत सफा गर्ने, नियमित दाँत जाँच गराउने, र अत्यधिक चिनी तथा प्रशोधित खानाबाट बच्न सल्लाह दिएका छन् । उनीहरूले स्वस्थ मुख नै स्वस्थ जीवनको आधार भएको बताएका छन् ।

विश्व दन्त महासङ्घको आह्वानमा आज स्वास्थ्य मन्त्रालय, दन्त चिकित्सक सङ्घ र विभिन्न स्वयंसेवी संस्था समुदायमा दन्त स्वास्थ्य शिविर, कार्यशाला र चेतनामूलक अभियान सञ्चालन गरिने छन् । यो दिवस सन् २०१३ देखि मनाउन प्रारम्भ भएको हो ।

६ चैत २०८२, शुक्रबार / काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण छ । यसले क्षति पुर्‍याउन सक्ने भएकाले सतर्कता अपनाउन र अति आवश्यक नपरी घर बाहिर ननिस्किन मौसमविदहरुले सुझाव दिएका छन् ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान ६ बजे जारी गरेको एक सूचना अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपात भइरहेको छ ।

तर शुक्रबार दिउँसोदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना छ । शुक्रबारदेखि नै दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा र पर्सि शनिबार कोशी प्रदेशका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ । हावाहुरीको वेग झन्डै ११९ किलोमिटर प्रतिघण्टाको हुने प्रक्षेपण छ ।

त्यसैले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गरेर मौसम बदलीसँगै देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहने प्राधिकरणको भनाइ छ ।

पछिल्ला केही दिन हावाहुरीका घटनाका कारण मानिसको मृत्यु तथा घाइते भएको भन्दै प्राधिकरणले जोखिम पूर्वानुमान गरिएका क्षेत्रमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउन भनेको हो ।

प्राधिकरणले विशेष काम नपरी यात्रामा ननिस्कन, हावाहुरी चलेका बेला घरका झ्यालढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू बन्द गर्न, सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान अनुरोध समेत गरेको छ ।

हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्न, बिजुलीको तार लत्रिएको छ भने नछुन, सो समयमा विद्युतीय उपकरण नचलाउन तथा जोखिमयुक्त स्थानमा नबस्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।

संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको शपथ चैत १२ गते हुने सूचना सार्वजनिक गरेको छ।

शपथ कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा दिउँसो २ बजे हुनेछ, जसका लागि सांसदहरूलाई दुई घण्टा अगाडि नै उपस्थित हुन भनिएको छ। संविधान र सम्बन्धित कानुनअनुसार सांसदहरूले निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्रसहित उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।