
५ चैत २०८२, बिहीबार/ विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीमा स्कुटरलाई टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गको बासबारीमा बिहान १०:३० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ ख ००३८ नम्बरको बालुवा बोकेको टिपर र विपरीत दिशातर्फ जाँदै गरेको को २५ प ३४८४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटरको पछाडि सवार सुन्दरहरैँचा–४ का १७ वर्षीय मौसम काफ्ले गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल पुर्याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे ।
दुर्घटनामा स्कुटर चालक सुन्दरहरैँचा–५ का १६ वर्षीय अनुप चापागाईं पनि गम्भीर घाइते भएका छन् । उनको अहिले विराट शिक्षण अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले जानकारी दिए ।
प्रहरीले दुर्घटनामा संलग्न टिपर र त्यसका चालक सप्तरीको तिरहुत गाउँपालिका–२ का ५७ वर्षीय शिवनारायण खंगलाई नियन्त्रणमा लिएको छ ।
५ चैत २०८२, बिहीबार /कैलाली । कैलालीको गोदावरी नगरपालिका–४, अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिताको हत्या गरेका छन् । गोली हानी उनले श्रीमतीको हत्या गरेका हुन् । त्यसपछि उनले आफैँमाथि गोली प्रहार गरेका प्रहरीले जनाएको छ ।
गोली लागेर घटनास्थलमै सञ्जिताको मृत्यु भएको छ । घाइते रामबहादुरलाई बेहोस अवस्थामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
बुधबार(चैत ४)अपराह्न गाउँनजिकैको जंगलमा बाख्रा चराइरहेका बेला श्रीमती सञ्जितासँग रामबहादुरले विवाद गरी आफ्नो साथमा रहेको भरुवा बन्दुकले प्रहार गरेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रवक्ता तिमिल्सिनाले बताए ।
उनले भने, “गए राति स्थानीयवासीले जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ घटना भएको समय यकिन भइसकेको छैन ।”
सञ्जिताका माइती पक्ष आएपछि मात्र शव उठाउने तयारी भइरहेको छ ।
५ चैत २०८२, बिहीबार/ प्युठान । प्युठान जिल्ला अस्पतालमा सिटामोल, गर्भवती महिलाका लागि आइरन चक्की र ग्यास्ट्रिकसम्बन्धी औषधि अभाव भएपछि उपचारमा समस्या देखिएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट समयमै औषधि नआएपछि यस्तो अवस्था आएको हो ।
अस्पतालका स्टोरकिपर नवीन थापाका अनुसार सिटामोलको स्टक छैन, करिब ७-८ महिनादेखि गर्भवती महिलालाई आइरन चक्की दिन सकिएको छैन । धेरै प्रयोग हुने औषधि छिट्टै सकिंदा अभाव देखिएको उनले बताए ।
प्रदेश सरकारमार्फत आउने ९८ प्रकारका औषधि चालु आर्थिक वर्षमा अझै प्राप्त भएको छैन । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलका सूचना अधिकारी माधव पोख्रेलका अनुसार खरिद प्रक्रिया जारी रहेकाले उपलब्ध हुन केही समय लाग्नेछ।
स्वास्थ्यकर्मीहरूले संघीय र प्रदेश सरकारबाट मात्र आपूर्तिमा भर नपर्न स्थानीय तहहरूले आवश्यक औषधि आफैं खरिद गरी वितरण गरिरहेको बताएका छन् ।
स्वास्थ्य कार्यालय प्युठानका वरिष्ठ खोप अधिकृत मधुसुदन खड्काका अनुसार पालिकाहरूले आवश्यक औषधि खरिद गरी अभाव हुन नदिन व्यवस्था मिलाएका छन् ।
मल्लरानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले पनि संघीय(प्रदेश सरकारबाट आउने औषधिसँगै पालिकामार्फत थप औषधि खरिद गरी स्वास्थ्य संस्थामा अभाव रोकिएको बताए । यसअन्तर्गत निःशुल्क औषधि र नसर्ने रोगसम्बन्धी औषधि उपलब्ध गराइएको छ ।
यसवर्ष जिल्लाका १३,५२८ किशोरीलाई १३ हप्ताका लागि आइरन चक्की वितरण गरिएको छ । गत आर्थिक वर्षमा भने ५९३ जना गर्भवती महिलालाई आइरन चक्की दिइएको थियो ।
५ चैत २०८२, बिहीबार /काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले भर्खरै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जितलाई जनताको रोजाइका रूपमा स्विकार्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले नयाँ सरकारले कसरी काम गर्छ भन्ने कुरा उनीहरूकै हातमा रहेको उल्लेख गरे।
बास्कोटाले नयाँ सरकारले काम सुरु गरेको कम्तीमा तीन महिनासम्म अरूले कुनै टिप्पणी गर्नुको अर्थ नरहेको स्पष्ट पारेका छन्। जनता सधैँ साझा रहने भन्दै यस पटक आम नागरिकले रास्वपाका बाचा र एजेन्डालाई विश्वास गरेको उनले स्वीकार गरे।
चुनावी परिणामपछि विभिन्न कोणबाट भइरहेका आलोचना र असन्तुष्टिलाई सङ्केत गर्दै उनले ‘खाँबो चिथोर्न बन्द गरे हुने’ भन्दै टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘रास्वपाले चुनाव जित्यो। चलाउँछन् कसरी रु त्यो उनीहरूकै कुरा। नयाँ सरकारले काम थालेको तीन महिनासम्म अरूले केही बोल्नु नै बेकार हो। जनता साझा थिए, छन् र हुने नै छन्। फरक कति मात्र हो भने आम जनताको रोजाइमा यसपल्ट उनीहरू परे, अझ यसो भनौँ उनका वाचा जनताले पत्याए।
५ चैत २०८२, बिहीबार/ काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् ।
बैठकमा सभापति गगनकुमार थापाले राजीनामा दिएकोबारे जानकारी गराउन कार्यसूची रहेको छ । यसका साथै निर्वाचनमा भोगेको पराजयको प्रारम्भिक विवरण पेस हुनेछ ।
तल्लो तहबाट विवरण बुझाउन बाँकी रहेको हुँदा उपसभापति शर्माले पराजयबारे प्रारम्भिक विवरण बैठकलाई जानकारी गराउने छन् ।
केन्द्रीय कार्यालयले सबै क्षेत्रमा परिपत्र गरेर निर्वाचन पराजय भएको कारण खुलाएर पत्र पठाउन भनेको छ । पराजय भएको र निर्वाचित भएको दुवैतर्फबाट कारण खुलाएर पत्र पठाउन भनेको छ ।
पार्टी स्रोतका अनुसार यो बैठकमा सभापति थापाको राजीनामाको बारेमै बढी केन्द्रित हुनेछ । बैठकमा उपसभापति शर्माले व्यक्तिको कारण पराजय भएको नभई विशेष महाधिवेशनबाट आएको नेतृत्व छोटो समयको तयारीमा चुनावमा होमिनुलाई कारण मान्दै बैठकमा राजीनामा अस्वीकृत गर्ने प्रस्ताव गर्ने तयारी छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटीमा आज धेरैजसो तरकारीको भाउ बढेको छ। सबैभन्दा धेरै काउलीको मूल्य किलोमै २९ रुपैयाँ बढेको छ।
त्यसैगरि करेला, च्याउ, गोलभेँडा, भन्टासहितका तरकारीको मूल्य पनि बढेको छ। तर, भारतीय आलु र प्याजको भाउ भने थोरै घटेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४८, रातो आलु २०, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३४, तराईको गाँजर २०, लोकल बन्दा २१, स्थानीय काउली ५१, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि तनेबोडी १५५, करेला १५०, लौका ५५, घिरौँला ७०, डल्ले फर्सी २५, पाकेको फर्सी ६५, भिन्डी १३३, कन्य च्याउ २८०, डल्ले च्याउ ३७५, सिताके च्याउ ९००, कुरिलो ४२५, न्यूरो ७५, ब्रोकाउली ८३ रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४५, रातो आलु १९, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २०, लोकल बन्दा २०, स्थानीय काउली २२, लाम्चो भन्टा ४०, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि तनेबोडी १५५, करेला १५०, लौका ५५, घिरौँला ६५, डल्ले फर्सी २५, पाकेको फर्सी ६५, भिन्डी १३२, कन्य च्याउ २२५, डल्ले च्याउ ३७५, सिताके च्याउ ९००, कुरिलो ४२५, ब्रोकाउली ५० रुपैयाँ प्रतिकिलो थियो।
इरान : विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र साउथ पार्समा हवाई आक्रमण भएको खबर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ। इरानी सञ्चारमाध्यमहरूले गरेको उक्त दाबीपछि तेलको मूल्य प्रति ब्यारेल १०८ डलरभन्दा माथि पुगेको छ।
ब्रेन्ट क्रुड आयलको मूल्य १०८.६० डलर प्रति ब्यारेल सम्म पुगेको छ, जुन मंगलबारको मूल्यको तुलनामा ५ प्रतिशतले बढी हो। त्यस्तै बेलायती ग्यासको बेन्चमार्क मूल्यमा पनि तीव्रता देखिएको छ। यो करिब ६ प्रतिशतले बढेर १३९ पेन्स प्रति थर्म पुगेको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स(आईआरजीसी) सँग आबद्ध न्युज एजेन्सी तस्नीमले इरानको साउथ पार्स ग्यास क्षेत्रमा रहेको पेट्रोकेमिकल कम्प्लेक्समा हवाई आक्रमण भएको जानकारी दिएको थियो।
साउथ पार्स विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र हो। यस क्षेत्रमा इरान र कतार दुवै देशले आफ्ना प्लान्टहरू सञ्चालन गर्दै आएका छन्। ‘तस्निम’का अनुसार आक्रमण बुधबार भएको हो।





