
३ चैत २०८२, मंगलबार/ खोटाङ । हावाहुरीले खोटाङको हलेसी एफमए १०२.४ मेगाहर्जको रिपिटर टावर भाँचिएको छ । फागुन २ गते साँझ सामान्य वर्षासँगै आएको हावाहुरीले एफएमको रिपिटर टावर भाँचिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको मुढेमा रहेको टावर भाँचिएपछि रेडियोको प्रशारण रोकिएको छ । हावाहुरी सुरु हुने वित्तिकैदेखि प्रशारण बन्द गरिएको हलेसी एफएमका सञ्चालक समिति अध्यक्ष बिष्णुकुमार राईले बताए । तिव्र गतिको हावाहुरीले रेडियोको टावर भाँचिएर भुइँमा थुप्रिएको छ ।
यस्तै एफएमको टावर सँगै रहेको दुई भवनमध्ये एक भवनको जस्ताको छाना पनि हावाहरीले उडाएको छ । हावाहुरीले टावर नजिकै रहेको विद्युतको दुई वटा पोल पनि ढालेको छ ।
हावाहुरीले खोटाङका विभिन्न ठाउँमा दर्जनौं घर र विद्यालयको छाना उढाएको छ । क्षतीको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रकाश बुढाथोकीले बताए ।
ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरेका छन् ।
पार्टीले आज ललितपुरमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति अर्यालले देश र जनताको पक्षमा काम गर्न आवश्यक रहेको बताए ।
“नागरिकलाई महसुस हुने गरी काम गर्ने सरकार गठन गरेर भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ, लामो समयदेखि देशको बागडोर सम्हालेका राजनीतिक दलले गरेको गलत क्रियाकलापले अहिलेको परिणाम आएको हो, यसले हाम्रो पार्टी र जननिर्वाचित प्रतिनिधिलाई जिम्मेवार र जवाफदेही बनाएको छ,” उनले भने ।
सोही पार्टीका अर्का उपसभापति स्वर्णिम वाग्लेले ४८ प्रतिशत मतका साथ प्राप्त गरेको झन्डै दुई तिहाइ बहुमतको विश्वासलाई जोगाएर जनताको भरोसालाई कायम राख्नु पर्नेमा जोड दिए । “वाचापत्रको मुख्य नारा थिति बसाल्ने छ, यसलाई काम गरेरै देखाउनुपर्ने छ, जनताले गर्न सक्नेगरी जिम्मेवारी दिएका छन्, हामीले इमानदारीपूर्वक काम गरेर देखाउनुपर्छ”, उनले भने ।
विसं २०१५ सालपछिको यो ठूलो जनादेशलाई शिरोधार्य गर्दै विधायकको भूमिका निर्वाह गर्नुपर्ने भएकाले जनताका गुनासा र मुद्दालाई उठाउन, आफ्नै सरकारले गरेका पनि गलतकार्यको प्रतिरोध गर्न उपसभापति वाग्लेले आग्रह गरे ।
संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिकालगायतका विषयबारे अभिमुखीकरण गराउन सो कार्यक्रम आयोजना गरिएको पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण स्थगित गरेका छन्।
इरानसँग जारी युद्ध देखाउँदै उनले भ्रमण ढिला गर्न चीनसँग अनुरोध गरेको जानकारी दिएका छन्।
‘अहिले हाम्रो युद्ध चलिरहेको छ। मलाई लाग्छ म यहाँ हुनु जरूरी छ,’ उनले भने।
उनले आफ्नो भ्रमण कति समयका लागि पछि सार्ने भन्नेबारे चाहिँ खुलाएनन्।
यसअघि चीनले ‘स्ट्रेट अफ हर्मुज’ खुलाउन सहयोग नगरे भ्रमण ढिला गर्ने धम्की दिएका थिए।
अमेरिका र इसराइलले फेब्रुअरी २८ मा इरानमाथि हमला गरेपछि इरानले आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको छ। यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ।
त्यो बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ। फलस्वरूप विश्व अर्थतन्त्रमा नै नराम्रो प्रभाव परेको छ।
सो जलमार्ग खुलाउन अहिले ट्रम्पले प्रयत्न गरिरहेका छन्। विश्व अर्थतन्त्रमा समस्या आउन नदिन ट्रम्पले युद्धपोतले ‘स्कर्टिङ’ गरेर भए पनि हर्मुज खुलाउने भनेका छन्।
हर्मुज खुलाउन युद्धपोत पठाउन शनिबार मात्रै उनले चीन, बेलायत लगायत देशलाई आग्रह गरेका छन्। तर चीनले युद्धपोत पठाउने सम्भावना कम देखिन्छ।
त्यसैले चीनले हर्मुज खुलाउन प्रयत्न गरोस् भनेर दबाव हाल्न ट्रम्पले चीन भ्रमण पछि सार्ने धम्की दिएका थिए।
चिनियाँ समकक्षी सी चिनफिङसँगको शिखर सम्मेलन अघि आफूले तेल सम्बन्धी अवरोध समाधान होस् भन्ने चाहेको ट्रम्पले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा भनेका थिए।
‘मलाई लाग्छ चीनले पनि मद्दत गर्नुपर्छ किनकि चीनले आफ्नो ९० प्रतिशत तेल त्यही जलमार्गबाट प्राप्त गर्छ,’ ट्रम्पले भने।
शिखर सम्मेलनभन्दा पहिले नै चीनले सहयोग गर्छ कि गर्दैन भनेर जान्न चाहेको पनि उनले बताएका थिए।
चिनियाँ राष्ट्रपति सीसँग भेटेर केही महिनाअघि चीनसँग भएको व्यापार सुलहलाई अन्तिम रूप दिन ट्रम्प मार्चको अन्त्यमा चीन जाने कार्यक्रम छ।
आपसी व्यापार बाहेक ताइवान मामलाबारे पनि ट्रम्पसँग कुरा गर्न सी आतुर देखिन्छन्। ट्रम्प रिसाएर भ्रमण रद्द गर्लान् भनेर नै चीनले इरानमाथि भएको हमलाको धेरै कडा विरोध नगरेको मानिन्छ।
सो कुरा बुझेका ट्रम्पले हर्मुज खुलाउन चीनलाई दबाव हाल्न आफ्नो चीन भ्रमण ढिला गर्ने धम्की दिएका हुन्।





