
शुक्रबार, २२ फागुन २०८२ /काठमाडौं । हिमाली क्षेत्रका १५ जिल्लामध्ये तीन जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी रहेको छ ।
मौसमका कारण अहिलेसम्म सङ्खुवासभा, डोल्पा र गोरखाको मतपत्र ढुवानी हुन बाँकी रहेको छ । तीन जिल्लाका हिमाली भेगका मतदान केन्द्रका मतपत्र हेलिकप्टरबाट ढुवानी गर्नुपर्नेमा बिहीबार बेलुकीदेखि नै मौसमका कारण सम्भव हुन नसकेको जानकारी प्राप्त भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।
मौसमले साथ दिएसम्म तीनवटै जिल्लाको मतपत्र आजै निर्वाचन अधिकृतको कार्यालयमा लैजाने गरी तयारी भइरहेको छ । मतपत्र ढुवानी भइसकेपछि तीनैवटा जिल्लाको मतगणना सुरु हुनेछ ।
यसैगरी, रसुवा, दोलखा, रुकुम(पूर्वी भाग), बाजुरा, बझाङ, हुम्ला, ताप्लेजुङ, मनाङ, मुस्ताङ, रुकुम (पश्चिमी भाग )सोलुखुम्बु र मुगुका हिमाली भेगका मतदान केन्द्रका मतपत्र भने जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा लगी सकिएको पनि उनले बताए ।
यस्तै, स्याङ्जा, दोलखा र धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ को मतगणना कानुनअनुसार गर्न पनि आयोगले निर्देशन दिएको जनाइएको छ । धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ मा घण्टीमा खसेको मत छुट्याएर राखी मतगणना गर्न आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।
शुक्रबार, २२ फागुन २०८२ /काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा अधिकांश निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको बेला एमालेले चार वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ।
पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले देशभर चार स्थानमा मात्र अग्रता लिएको छ। अन्तिम मत परिणाम नआउदासम्म यकिन नभए पनि हाललाई एमालेको चार स्थानमा अग्रता लिएको छ। जसमा बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इश्तियाक राई, रुपन्देही ४ का प्रमोदकुमार यादव, तेह्रथुम १ का भानुभक्त ढकाल र चितवन १ का दावा दोर्जे लामाले मात्र अग्रता लिएका छन्।
शुक्रबार, २२ फागुन २०८२/ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शना काठमाडौं-१ बाट निर्वाचित भएकी छन् । निर्वाचित भएको बारे जानकारी गराउँदै उनले आफ्ना मतदातालाई फेसबुकमार्फत धन्यवाद दिएकी छन् ।
‘यो विजय देशको, परिवर्तन पक्षको । काठमाडौं क्षेत्र नं १ मा हामीलाई घन्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं,’ उनले भनेकी छन्, ‘हामीलाई शुभकामना दिनुहुने सम्पूर्ण शुभेच्छुक, साथी तथा मतदाताहरू प्रति हार्दिक नमन ।’
उनले आज आफ्नो छोराको न्वारन कार्यक्रम रहेको बताउँदै उक्त कार्यक्रम सकेर साढे ११ बजे बानेश्वरस्थित सहभागी विभागमा उपस्थित हुने बताएकी छन् ।
उनले चुनाव प्रचारकै क्रममा अस्पताल भर्ना भएर छोरालाई जन्म दिएकी थिइन् । ‘हाल हामी परिवार बाबुको न्वारन कार्यक्रममा छौं। यो सम्पन्न हुनेबित्तिकै बानेश्वर स्थित सहकारी विभागमा हजुरहरूसँगै उपस्थित हुनेछु,’ उनले भनेकी छन्, ‘करिब ११:३० बजे। हामी सबै देशप्रेमीहरू त्यहीँ भेटौँ है ।’
रञ्जु १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् । ६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।
यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाएका छन् ।
शुक्रबार, २२ फागुन २०८२ \ काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले अग्रता फराकिलो बनाएका छन्।
पछिल्लो मतपरिणामअनुसार बमले ६ हजार २८४ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले १ हजार ९०७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका राजन भट्टराईले १ हजार ४७९ मत पाएका छन्।





