
काठमाडौं । नेपाली सेनाद्वारा आयोजित महाशिवरात्रि तथा सेना दिवस-२०८२ सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहेका थिए भने प्रधानमन्त्री सुशिला कार्कीलगायतका विशिष्टहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा महाशिवरात्रि बढाइँ तथा मार्च पास्ट, नेपाली सेनाका हातहतियार तथा उपकरणहरुको प्रदर्शन, विविध सैनिक कला तथा सांगीतिक झाँकीहरु प्रदर्शन गरिएको थियो।
त्यस्तै मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका सेनाका ब्यान्डहरुका प्रस्तुति पनि कार्यक्रममा राखिएका थिए। शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।
नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका अवसरमा आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।
राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट नेपाल एकीकरणको सिलसिलामा वि. सं १८१९ मा नेपाली सेनाको गठन भएको थियो।





