
काठमाडौं – निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि काठमाडौं महानगरपालिका अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुगेको छ ।
पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा प्रक्रिया नपुर्याई पास गरेको भन्दै महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न समिति बनाएको छ । छानबिन समिति बनेसँगै गुरागाईं बिदामा बसेपछि निमित्त प्रमुखको जिम्मेवारी शर्माले पाएका थिए ।
मेयर बालेन साह पारिवारिक भ्रमणमा थाइल्यान्ड गएको समयमै शर्माले पनि पदबाट राजीनामा दिएको महानगरले जनाएको छ । मेयर साह मंगलबार स्वदेश फर्किएका छन्
महानगरका प्रवक्ता नवीन मानन्धर र मेयर साहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले ५ पुसमा पत्रकार सम्मेलन गरी प्रक्रिया नै पूरा नगरी काठमाडौं टावरको नक्सा स्वीकृति दिएको भन्दै कानुन बमोजिम प्रक्रिया थालनी गर्ने जनाएका थिए ।
नक्सापास विवादमा महानगरले सर्वोच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
सरकारका पूर्वसचिव शंकरप्रसाद पाण्डे र महानगरको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी सदस्य छन् ।
महानगर स्रोतका अनुसार मेयर साहले नै छानबिन भइन्जेल कार्यालय नआउनू भन्दै बिदा बस्न भनेका थिए । १७ पुससम्म बिदामा बसेका गुरागाईं कार्यालय आउने तयारी गरेपछि बालेनको सचिवालयले उनको कार्यकक्षमै ताला लगाइदियो । वातावरण नबनेपछि उनी अहिलेसम्म कार्यालय गएका छैनन ।
गुरागाईंले प्रशासन विभागमा सम्पर्क गरी आफू आउनका लागि वातावरण बनाइदिन आग्रह गरे पनि कार्यकक्षमा ताला लगाएको जानकारी पाएपछि उनी आउन सकेका छैनन् ।
महानगरले त्यसबेला शिक्षा विभागका प्रमुख वरिष्ठ उपसचिव शर्मालाई निमित्तको जिम्मेवारी दिइएको थियो । तर, शर्माले पनि महानगर प्रमुख बालेनको सचिवालयमा राजीनामा दर्ता गराएको महानगरका सहायक प्रवक्ता दिपक काफ्लेले बताए ।
‘निमित्त प्रमुखको राजीनामा स्वीकृत नभएकाले महानगरमा प्रमुख प्रशासकीय अधिकृत छैन भन्न मिल्दैन । महानगर आफ्नो ढंगले काम गरिरहेको छ,’ सहायक प्रवक्ता काफ्लेले भने ।
सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाओस् : बालेन सचिवालय
मेयर बालेनको सचिवालयले भने संघ सरकारले तत्काल महानगरमा प्रशासकीय प्रमुखका रूपमा सहसचिव खटाउनुपर्ने बताएको छ ।
‘गुरागाईंमाथि छानबिन भइरहेकाले उहाँलाई कामकाजको जिम्मेवारी दिनसक्ने कुरा हुँदैन । यसलाई बुझेर संघीय मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाउनुपर्ने हो,’ मेयरका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने ।
उच्च तहका कर्मचारीहरू बिदामा
महानगर प्रमुख प्रशासकीय अधिकृत विहनी बनेकै समयमा केही वरिष्ठ कर्मचारीहरू एकैसाथ बिदामा बसेको पाइएको छ ।
प्रशासन विभाग प्रमुख दिपक काफ्ले १७ पुसदेखि बिदामा छन् । यस्तै योजना अनुगमन तथा मूल्यांकन एकाई प्रमुख सुमित्रा लामिछाने सुवेदी पनि बिदामा बसेको स्रोतले बतायो ।
सुनिताले राखिन् विभागीय प्रमुखको बैठक
यसैबीच कार्यावाहक प्रमुख सुनिता डंगोलले विभागीय प्रमुखहरूको बैठक राखेर ब्रिफ्रिङ लिएकी छन् । नियत सफा राखेर काम गर्ने हो भने संकट टर्ने उनले सो अवसरमा बताएको कर्मचारीहरू बताउँछन् ।
‘दायित्व निर्वाह गर्ने क्रममा नियत सफा राखेर काम गर्नुपर्छ,यो कर्मचारीको धर्म हो,’ विभागीय प्रमुखहरूसँगको बैठकमा डंगोलले भनिन्, ‘काम गर्दै जाँदा परिस्थितिजन्य प्रशासनिक संकट आउन सक्छ । यो संकटबाट केवल कानुनले मात्र बचाउन सक्छ । यसकारण तपाईंहरू कानुनी व्यवस्थाप्रति पूर्ण इमान्दार र प्रतिबद्ध हुनुपर्छ ।’
काठमाडौं – नेकपा माओवादी केन्द्रले युवासँग माओवादी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले यस्तो घोषणा गरेका हुन् । प्रचण्डले राजनीतिक प्रतिवेदनमा समेत यससम्बन्धी व्यवस्था प्रस्ताव गरेका थिए ।
गत आइतबार ३० पेजको राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले नयाँ युवाहरूलाई पार्टीकरण गर्ने योजना अगाडि सारेका थिए ।
प्रतिवेदनमा भनिएको छ, ‘युवाहरूलाई क्रान्तीकारी बिचारमा राजनीतिक रूपमा आर्कषित गर्न र कम्युनिस्ट तथा क्रान्तीकारी आन्दोलन र पार्टीमा संगठित गर्न उपयुक्त विधि निकानुपर्छ । यसका लागि विशेष कार्यदल बनाइ कार्यशालाको समेत आयोजना गरी योजनाको विकास गर्नुपर्दछ ।’
युवालाई अवसर दिँदा पार्टीको हित र आवश्यकताका आधारमा जिम्मेवारी र कार्यविभाजन गर्ने र जिम्मेवारीको उपलब्धिहीन निरन्तरतालाई विराम लगाइने भनिएको छ ।
यसमा केन्द्रीय सदस्यहरू सर्वसम्मत रहेको भन्दै प्रचण्डले युवासँग माओवादी कार्यक्रम चलाउने घोषणा गरेका हुन् ।





