रौतहट । विद्यालयको एउटा कोठालाई प्लाइउडको सहायताले २ भागमा विभाजन गरिएको छ । जसको पहिलो भागमा कक्षा ४ विद्यार्थी पढ्छन् भने दोस्रो भागमा कक्षा ५ का विद्यार्थी पढिरहेका छन् ।
कक्षा ५ का विद्यार्थीहरु अध्ययन गरिरहेको कोठामा काठको खाटमा चिउरा , भुजा, आलु, चना लगायतका सामाग्रीहरु थुपारिएका छन् ।
कक्षाको दाया भागमा एउटा बेञ्चमा ग्यास चुल्हो , पकाउने भाँडाकुँडाहरु, नुनतेल र मरमसालाका डब्बाहरु राखिएका छन् । कक्षाको बाँयातर्फ राखिएका दुइवटा डेस्कबेञ्चमा विद्यार्थीहरु बसेर पढिरहेका छन् ।
एउटा कोठामा कक्षा २ र ३ एकैसाथ सञ्चालन भइरहेका छन् । कक्षाको दायापट्टि लहरमा कक्षा ३ र बायाँपट्टि लहरमा कक्षा २ का विद्यार्थीहरु राखिएका छन्।
कक्षामा दुइजना शिक्षकहरुले एकै साथ पढाइरहेका छन् । शिक्षक शिवराज चौधरी कक्षा ३ लाई अंग्रेजी पढाइरहेका छन् भने शिक्षिका सुनिता चौधरी कक्षा २ लाई हिसाब । दुबै कक्षाका विद्यार्थीहरु अक्क न बक्क पर्दै शिक्षकले पढाएको हेरिरहेका छन् ।
यी दृश्य हुन रौतहटको पूर्व–पश्चिम राजमार्गले छोएको सुगम नगरपालिका चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ राजपेडामा रहेको आधुनिक प्राथमिक विद्यालयको ।
विद्यालयको नाम आधुनिक रहेपनि विद्यालयभने स्थापनाकालदेखि हालसम्म पराम्परागत शैलीमानै सञ्चालन भइरहेको छ ।
वि.सं. २०५० सालमा स्थापना भएको सो विद्यालयमा अध्ययन गर्ने अधिकासं विद्यार्थीहरु विद्यालय वरपर बस्ने मुसहर, चमार, कापडी लगायत अति विपन्न तथा दलित परिवारका बालबालिकाहरु रहेका छन् ।
विद्यालयको दुइवटा भवनमा ५ वटा कोठा मात्र छन् । शिशुदेखि कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा १ सय ८० विद्यार्थी अध्ययनरत छन् भने ३ जना स्थायी, १ जना राहत, १ जना निजि श्रोतका शिक्षकहरु कार्यरत छन् ।
कक्षाकोठाको अभाव हुँदा बहुकक्षा तथा भान्साकोठामा विद्यार्थी राखेर पढाउनु परेको वाध्यता सुनाउँछिन् शिक्षिका लक्ष्मी थापा ।
उनले सो विद्यालयको भौतिक पूर्वाधारको विकास गर्न वडा तथा नगरमा पटक–पटक आग्रह गरेपनि आजसम्म सुनुवाइ नहुँदा अध्ययन अध्यापनका समस्या आएको गुनासो गरिन् ।
बहुकक्षा संचालन गर्दा विद्यार्थीहरुले पढाएको नुबुझ्ने , सिकाइ प्रभावकारी नहुने लगायतका समस्याहरु विद्यार्थीले झेल्नु परेको गुनासो विद्यार्थीहरुको छ ।
विद्यालयमा शिशु कक्षाका ४० जना भन्दा बढि विद्यार्थीहरुलाई चिसो भुँइमा सामान्य दरी ओछ्याएर पढाउने गरिएकाले विद्यार्थीहरु बिरामी हुने घटना सामान्य भइसकेको छ ।
आर्थिक, राजनैतिक, सामाजिक रुपमा कमाजोर समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालय भएकाले सबैको वेवास्ताको सिकार बन्न पुगेको अभिभावकहरु दुःखेसो गर्छन् ।
आफुहरुको वार्डमा जम्मा २ वटा विद्यालय भएपनि वडा तथा नगरले विद्यालयको विकासको लागि खासै केही नगरेको स्थानिय नविन बराल बताउँछन् ।
हुने खाने र सक्नेहरु आफ्ना छोराछोरीहरुलाई मंहगो बोर्डिङ्ग स्कुलहरुमा पढ्न सक्ने भएकाले कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरुले पढ्ने यस्ता विद्यालयहरु भने राज्यको उपेक्षामा परेको उनको भनाइ छ ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष निलहरी कोइरालाले विद्यालय निमार्णको लागि केन्द्रबाट ५० लाख वजेट आइसकेको र अब चाँडैनै भवन निमार्ण सुरु हुने बताए ।
उनले स्कुलको नाममाजम्मा ऐलानी समेत गरेर दुइ कठ्ठा मात्रजग्गा रहेको र भवन बनाउने क्रममा जग्गामा केही विवाद आइरहेकोले एकदुइ दिनमा त्यसको समाधान गरेर भवन निमार्ण प्रक्रिया जाने बताए ।
हाल चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय काफ्लेको वडामा सो विद्यालय पर्छ । यसअघि काफ्ले आफै सो वार्डको वडाध्यक्ष पनि थिए ।
नगरप्रमुखकै वार्डको विद्यालय र विद्यार्थीको बिजोग हुनु दुःखद् भएको स्थानीय बताउँछन् ।