बर्डफ्लुको उच्च जोखिममा झापा, भारतबाट खुलेआम ल्याइन्छ कुखुरा र मासु

मुख्य खबर

भारतबाट अवैध रूपमा कुखुराजन्य बस्तुको आयात हुँदा झापा बर्डफ्लु उच्च जोखिममा परेको छ। 

खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय व्यवसायीले निर्वाध कुखुरा, अन्डा, मासु नेपाल भित्र्याउँदा जोखिम बढेको झापाका व्यवसायी बताउँछन्। 

कुखुराजन्य बस्तु जुनसुकै मुलुकबाट पनि नेपाल भित्र्याउन पाईँदैन।

झापामा बर्डफ्लु संक्रमण देखा पर्‍यो भने सयौँ किसानको लाखौं लगानी डुब्ने उनीहरुले दुखेसो पोखे।

झापामा फस्टाउँदो कुखुरा व्यवसायको सुरक्षा राज्यले गर्न नसक्दा लगानी डुब्ने खतरामा परेको उनीहरूले गुनासो गरे।

झापामा करिब ३ हजार किसानले २३ अर्ब लगानी गरेर कुखुराजन्य व्यवसाय गर्दै आएका छन्।

जिल्ला कुखुरा उत्पादक व्यवसायी संघ झापाका अनुसार ६४ हजारले यो व्यवसायबाट प्रत्यक्ष-अप्रत्यक्ष रोजगारी पाइरहेका छन्। 

जिल्लाका पाठापुर, गोलधाप, पन्थापाडा, कुन्जीबारी, नकल्बन्दा, काकडभिट्टा, भद्रपुर, कचनकवल, झापा गाँउपालिका, गौरीगञ्ज गाँउपालिकाको विभिन्न नाकाबाट अबैधरूपमा कुखुराजन्य बस्तुको अबैध आयात हुने गरेको जिल्ला कुखुरा उत्पादक व्यवसायी संघ झापाका अध्यक्ष विवेक निरौलाले बताए। 

निरौलाका अनुसार प्रहरीकै अगाडिबाट यसरी कुखुराको मासु, चल्ला, र अन्डा नेपाल भित्रदा पनि स्थानीय प्रशासन मुखदर्शक बनेको निरौलाको आरोप छ।

यो व्यवसाय थोरै लगानीमा पनि गर्न सकिने भएकाले धेरै किसान यसमा आकर्षित भएका हुन्। थोरै लगानीमा पनि मनग्ये आम्दानी गर्न सकिने भएकाले विदेशबाट फर्किएका युवाले यो व्यवसायमा हात हालेका छन्।

भारतीय व्यवसायीले नेपाली बिक्रेतासँग समन्वय गरेर नेपालमा मासुजन्य बस्तुको अवैध निर्यात गर्ने गरेका छन्। भारतबाट भित्रने कुखुराको मासु स्वास्थ्य परीक्षण नगरेको हुनाले जोखिमसमेत बढेको व्यवसायीको गुनासो छ। 

भारतबाट पशुपंक्षी नेपाल आयात गर्दा नाकामा कडाई गर्नुपर्ने नेपाली व्यवसायीले माग गरेका छन्। प्रतिबन्धित बस्तुको आयात तत्काल नरोके त्यसबाट पर्ने असर र क्षतिको बारेमा सरकारले व्यवसायीलाई क्षतिपूर्ती दिनुपर्ने उनीहरूले माग गरेका छन्।

झापाका व्यवसायीका अनुसार बिहिबार र शुक्रबार मात्रै कुखुराको तयारी मासु पूर्वी नाकाको मुख्य बाटो काकडभिट्टा हुँदै नेपाल भित्र्याएको छ।

तीन वटा सुरक्षा घेरा पार गरेर खुलेआम प्रतिबन्धित मासु कसरी नेपाल भित्रियो भनि अध्यक्ष निरौलाले प्रश्न गरे।

‘नेपाल प्रहरी, शसस्त्र प्रहरी र भन्सारका कर्मचारी समेतलाई जानकारी गराउँदा उहाँहरुले मतलबै राख्नु भएन,’ निरौलाले भने। 

निरौलाका अनुसार सिमानाबाट आएका  प्रतिबन्धित अवैध मासु जफत वा कानुनी कारबाहीका लागि सरकारका अधिकारीसँग अनुरोध गर्दा पनि बेवास्ता हुन्छ भने भारतीय व्यापारी र सिमानामा खटिएका प्रहरीबीच मिलेमताको आशंका गर्न सकिन्छ।

व्यवसायीले सुरक्षाको कारण देखाउँदै भारतबाट नेपाल आयत हुने कुखुराको अवैध मासु रोक्न सरकारसँग पटक पटक माग गर्दै आएका छन्। 

सरकारले पनि व्यवसायीको माग उचित रुपमा सम्बोधन गर्ने बताए पनि दिनहुँ नाकाबाट अबैध रुपमा कुखुरा, त्यसको तयारी मासु र अन्डा आयात हुने गरेको छ। 

झापा गाँउपालिकाका किसान हरेराम साहले भारतबाट अवैध रूपमा मासुजन्य बस्तुको आयात हुँदा नेपाली व्यवसायीको करोडौं लगानी खेर जाने बताए। 

‘करोडौं रूपैयाँ लगानी गरेर कुखुरा व्यवसाय सञ्चालन गरेको छु । भारतबाट विना परीक्षण कुखुराजन्य बस्तु आयात हुँदा मेरा खोरका कुखुरा कतिबेला बर्ड फ्लुले सोत्तर बनाउने हो, थाहा छैन,’ उनले गुनासो गरे।

काकडभिट्टा नाकाबाट सबैभन्दा धेरै कुखुरा, अन्डा र तयारी मासु अवैध रुपमा नेपाल भित्रिने गरेको व्यवसायीले बताए पनि यसबारे आफूहरूलाई कुनै खबर नभएको इलाका प्रहरी कार्यालय काकरभिट्टाका डिएसपी दिपक भारतीले बताए। 

‘नाकामा प्रतिबन्धीत बस्तुहरुको अवैध आयातलाई कडाई गरिएको छ,’ डिएसपी भारतीले भने, ‘कुखुराको मासु मात्रै होईन कुनै पनि प्रतिबन्धित बस्तु नेपाल छिर्न नदिन हामीले नाकामा कडाई गरेका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *