काठमाडौं । जन्मदै मुटुमा देखिने रोगलाई ‘जन्मजात मुटुरोग’ भन्ने गरिन्छ । बालबालिकामा देखिने मुटुरोगहरुमध्ये अधिकांशको मुटुमा प्वालको समस्या हुन्छ ।
विषेश गरी समय नपुग्दै जन्मने शिशुहरुमा जन्मजात मुटुको समस्या देखिने गरेको चिकित्सकहरुको बताउँछन् ।
जन्मजात मुटु रोगमा बच्चा जन्मिएपछि राम्रोसँग दूध चुस्न नसक्ने वा दूध चुस्ने समयमा निधारमा धेरै पसिना आउने, सुतिरहँदा पनि पसिना आइरहने, धेरै छटपटाइरहने, रुँदा केही निलोपना देखिने जस्ता लक्षणहरु देखिने गर्दछन् ।
आमाको गर्भमा छँदा शिशुको मुटु विकास हुने क्रममा जस्तो रक्तनली, मुटुको तल र माथिको पर्दा, भल्भ जस्ता अंग बन्ने क्रममा आएको अस्वभाविक समस्यालाई जन्मजात मुटुको रोग भन्ने गरिन्छ ।
यसरी मुटु बन्ने क्रममा मुटुका कोठाबीचको पर्दामा प्वाल पर्ने, रक्तनली र भल्भ खुुम्चिने, रक्तनली उल्टो दिशाबाट विकसित हुने, भल्भ आंशिक तथा पूर्ण रूपमा बन्द हुने, दायाँ वा बायाँ भाग अविकसित हुने लगायत मुटुमा समस्या देखिने गर्दछ ।
जन्मजात मुटुको समस्या विशेष गरी निलो हुने र निलो नहुने लक्षणका आधारमा पहिचान गरिन्छ । निलो नहुने मुटुको रोगमा मुख्य गरी मुटुको कोठाबीचको पर्दामा प्वाल पर्ने, रक्तनली वा भल्भ खुम्चिने समस्या देखिन्छ । निलो देखिने मुटुको रोग जटिल खालको हुने चिकित्सकहरु बताउँछन् ।
कुल जन्मिएकामध्ये करीब दुई तिहाइ शिशुलाई एक महीनाभित्रै जटिल प्रकृतिका जन्मजात मुटुरोगका लक्षण देखापर्दछ ।
समयमै उपचार नभएमा जन्मेको केही दिनभित्रै मृत्यु पनि हुन सक्छ । तर प्रविधिमा आएको विकाससँगै गर्भमा रहदा नै बच्चामा मुटुको समस्या छ वा छैन भनेर ‘फिटल इकोकार्डियोग्राफी’ गर्न सकिन्छ । यो शिशु गर्भमा भएको १८ सातादेखि गर्न सकिन्छ ।
जसको मद्धतले शिशुमा जन्मजात मुटुको रोग छ वा छै्रन भनेर पहिचानका साथै उपचारका लागि समेत सहज हुने चिकित्सक बताउँछन् ।
जन्मजात मुटुरोग हुनुको मुख्य कारण वंशानुगत र वातावरणीय प्रभावलाई मानिएको छ । साथै गर्भावस्थामा पहिलो तीन महिनामा हुने विभिन्न भाइरल इन्फेक्सन, गर्भवती महिलाले औषधि, चुरोट तथा अल्कोहलको सेवन, विकिरणको प्रभाव, मधुमेह, उच्चरक्तचाप, क्रोमोजोममा गडबडी, डाउन सिन्ड्रोम, शरीरमा फोलिक एसिडको कमी, लगायतका कारण बच्चामा जन्मजात मुटुरोग हुने गर्दछ ।
झन्डै, १० प्रतिशतमा मात्रै रोगको वास्तविक कारण पत्ता लाग्ने गरेको छ ।