चितवन : नारायणघाटको पुल्चोकमा शुक्रबार दिउँसो किसानको भीड बढ्दै थियो। चितवन मंगलपुरका ६५ वर्षीय किसान शशीधर पौडेल टक्क उभिए र भीडलाई सम्बोधन गर्दै भन्न थाले, ‘सरकार ! हामी यहाँ छौं।’ उनी किसानका पीडा पोख्दै गए, ‘सरकारले हामीलाई देखेन। हाम्रा उत्पादनले बजारमा ठाउँ पाएनन्। अब के गरौं, मेहेनत बारीमा कुहाएर बसौं ?’
केही समयअघि वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता पनि सडकमा ओर्लिएर ‘पलेँटी’ कस्दै ‘सरकार ! हामी यहाँ छौं,’ भनेको स्मरण गर्दै किसान पौडेलले भने, ‘पहिले तपाईंहरूले भनेकै शब्द आज हामीले भन्नु परेको छ। प्रधानमन्त्रीज्यू, आज हामी अन्यायमा पर्दा तपाईं जसरी नै सडकमा छौं। अनि, तपार्इं सरकारमा, हाम्रो पीडा अब पनि सुन्नुहुन्न ?’
पौडेल किसानका पीडा शब्दमा पोख्दै थिए। त्यहीँ समय सडकमा तरकारी पोख्न सुरु भयो। गोलभेँडा, गाँजर, कोपी, सिमीलगायतका किसानका उत्पादनले सडक रंगिए। दुःख गरेर लगाएको उत्पादनले लगानी पनि नउठेपछिको निराशा किसानमा देखिन्थ्यो। भएको उत्पादन पनि बिक्री नभएपछि चितवनका किसान सडकमा उत्रन बाध्य भए। उत्पादन सडकमा पोखिए।
बजार स्थानीय उत्पादनभन्दा बाहिरी देशबाट आयात गरिएका तरकारी र फलफूलले ढाकेपछि शुक्रबार चितवनका किसानले आन्दोलन गर्नुपर्ने अवस्था आएको किसान पौडेलले बताए। ‘धेरै लगानी गरी खेती गरिन्छ। बारीमा कुटोकोदालो गर्न छोडेर हामी अहिले सडकमा आउन बाध्य भएका छौं,’ उनले भने, ‘कृषिप्रधान मुलुकमा किसानकै आन्दोलन सरकारले अब पनि हेरेर बस्छ भने सरकार लाचार भएन र ?’
आन्दोलित किसानले विभिन्न माग राख्दै पुल्चोकमा कोणसभा पनि गरे। बजारमा स्थानीय उत्पादनले मूल्य नपाएको उनीहरूको मुख्य गुनासो थियो। भारतसहितका मुलुकबाट आउने तरकारीले स्थानीय उत्पादनलाई विस्थापन गरेको किसानहरूको भनाइ थियो। ‘उत्पादनले बजार नपाउँदा नेपाली किसान मरिरहेका छन्। सरकार टुलुटुलु हेरेर बसिरहेको छ। अनि यो अवस्था नदेखाएर के गर्नु ?’ भरतपुर—१६ की किसान धनु अधिकारीले प्रश्न गरिन्। उनले आठ बिघा जग्गामा तरकारी खेती गरेकी छिन्। भन्छिन्, ‘हाम्रो तरकारी बारीमै कुहिने अवस्थामा आयो। यस्तै अवस्था रहे प्रेमप्रसाद आचार्यले जस्तै आत्मदाह गर्ने स्थिति नआउला भन्न सकिन्न। सरकारले केही नसुन्दा हामी मानसिक तनावमा छौं।’
किसानले ऋण काडेरसमेत तरकारी खेती गरेका हुन्छन्। सरकारले नै कृषि ज्ञान केन्द्र र अन्य निकायबाट खेती गर्न प्रोत्साहन गर्छ। तर, उत्पादन भएपछि बजारको व्यवस्था नगर्दा किसान समस्यामा परेको अधिकारी बताउँछिन्। ‘उत्पादनमा प्रोत्साहन छ। तर, बजार व्यवस्थापनमा सरकारको चासो छैन। हामीलाई नाफा त त्यस्तै हो, गोलभेँडा बेचेको पैसाले गोलभेडा टिप्ने खेतालालाई पनि तिर्ने पुग्दैन,’ उनले भनिन्। सबै किसानको एउटै आरोप थियो, ‘भारतको तरकारीले स्थानीय उत्पादन विस्थापित गर्यो।’
चितवनका अधिकांश क्षेत्रमा तरकारीको व्यावसायिक खेती हुन्छ। तर, पछिल्लो समय बजार अन्य मुलुकबाट आएका तरकारीले भरिएको र किसानको उत्पादन खरिद नगरेका कारण किसान निराश छन्। बेमौसमी त परको कुरा मौसमी तरकारी पनि नबिकेको किसान बताउँछन्। बजार र किसानबीचका बिचौलियाका कारण यो समस्या आएको उनीहरूको तर्क छ। ‘एक त किसानको उत्पादले मूल्य नै पाउँदैन। थोरै मूल्यमा बिचौलियालाई बेच्नुपर्ने बाध्यता छ। यसले किसानको गर्जो कसरी टर्ला र ?,’ स्थानीय किसान अरविन्द सुवेदीले भने। बिचौलियाको तह धेरै भएकाले किसानको उत्पादन उपभोक्तासम्म पुग्दा महँगो भएको उनले बताए। उनले अब सरकारले सिधै किसानबाट व्यापारी र उपभोक्तासम्म उत्पादन पुग्ने वातावरण सरकारले बनाउनुपर्ने माग पनि गरे। शुक्रबार मध्य सडकमा नै किसानले तरकारी फालेपछि केहीबेर सडक अवरुद्ध भएको थियो।
अनिल ढकाल अन्नपुर्ण