समानुपातिकतर्फ साढे १० लाखभन्दा बढी मत ल्याएर अहिलेसम्म चौथो स्थानमा

उज्यालो खबर मुख्य खबर

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभाको जारी मतगणनामा समानुपातिकतर्फ साढे १० लाखभन्दा बढी मत ल्याएर अहिलेसम्म चौथो स्थानमा छ। मतगणनाको सुरूमा १३ प्रतिशतको हाराहारीमा मत पाइरहेको रास्वपाले पाएको मत ११.४० प्रतिशत पुगेको छ।

प्रत्यक्षतर्फ ७ सिटमा जित हात पारेको घन्टी चुनाव चिन्ह भएको रास्वपाले अहिलेको मतपरिणामको ट्रेन्ड हेर्दा समानुपातिकतर्फ १२ सिट पाउने देखिएको छ।

अहिलेसम्मको मतपरिणाम हेर्दा घन्टीले चितवनमा अत्याधिक मत पाएको छ। पार्टी सभापति रवि लामिछाने र हरि ढकालले प्रत्यक्षतर्फ चुनाव जितेको चितवनमा समानपातिकतर्फ पनि घन्टीले तीन वटै क्षेत्रमा मत पाएको छ।  

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ९९ हजार ३७ मत ल्याएको छ।  एमालेले ५५ हजार ३ सय १२ र नेपाली कांग्रेसले ३९ हजार ३ सय ५१ मत ल्याएको छ।

परम्परागत दुई शक्ति नेपाली कांग्रेस र एमालेको मत जोड्दा समेत रास्वपाको धेरै हुनुले यो पार्टीको इपिसेन्टर चितवन नै हो भन्ने प्रष्ट हुन्छ।

यो समाचार तयार पार्दासम्म समानुपातिकतर्फ ९३ लाख ३६ हजार मतगणना भइसकेको छ। जसमध्ये रास्वपाले १० लाख ६४ हजार मत ल्याएर चौथो स्थान ‌ओगटेको छ।

अहिलेसम्म आएको मतलाई आधार मान्ने हो भने रास्वपाले चितवनका साथै काठमाडौं, ललितपुर भक्तपुर, पोखरा, बुटवल, दाङ, मकवानपुर, सुनसरी, मोरङ र झापालगायत जिल्लामा धेरै मत ल्याएको छ। उसले मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने खासै मत ल्याउन सकेको छैन।

विशेष गरेर राजमार्ग आसपासका बस्तीहरूमा उसको धेरै भोट ल्याएको छ। हामीले रास्वपाले धेरै मत ल्याएका र मत ल्याउन नसकेका केही ठाउँहरूको विश्लेषण गरेका छौं।

रास्वपाले काठमाडौंमा प्रत्यक्षतर्फ चार क्षेत्रमा निर्वाचन जितेको छ। काठमाडौंमा उसले समानुपातिकमा सबैभन्दा धेरै मत ल्याएको छ। उसले १ लाख ३ हजार मत ल्याउँदा कांग्रेसले ८३ हजार ६ सय र नेकपा (एमाले)ले ८० हजार ९ सय मत ल्याएको छ। राप्रपाले ६३ हजार ६ सय मत पाएको छ।

ललितपुरमा प्रत्यक्षतर्फ एक क्षेत्र जितेको रास्वपा समानुपातिकतर्फ दोस्रो भएको छ भने एमाले पहिलो भएको छ। कांग्रेस तेस्रो स्थानमा छ। यद्यपी ललितपुर क्षेत्र नं २ र ३ मा रास्वपा पहिलो भएको छ।

भक्तपुर क्षेत्र नं १ मा समेत रास्वपाले एमाले र कांग्रेसलाई जितेको छ। तर यो क्षेत्रमा नेमकिपा पहिलो पार्टी बनेको छ। कास्कीमा रास्वपा दोस्रो भएको छ। एमाले पहिलो पार्टी बन्दा कांग्रेस तेस्रोमा सिमित भएको छ।

कास्की क्षेत्र नं २ मा पनि रास्वपा पहिलो पार्टी हो। पूर्वी नवलपरासी क्षेत्र नं १ मा रास्वपा पहिलो पार्टी बनेको छ। जिल्लामा भने उसलाई कांग्रेस र एमालेले जितेका छन्। रूपन्देहीमा रास्वपाले ६६ हजार मत ल्याउँदा २५ हजार मतसहित रूपन्देही क्षेत्र नं २ मा ठूलो पार्टी बनेको छ।

झापामा समेत रास्वपाले राम्रो मत ल्याएको छ। उसले झापामा ७७ हजार मत कटाएको छ। झापामा एमाले पहिलो पार्टी बनेको छ भने कांग्रेस दोस्रो छ। मोरङमा पनि उसले ५२ हजार मत कटाएको छ।

सुनसरीमा मतगणना सकिएको छैन। अहिलेसम्म गणना भएको मतमा घन्टीले ३४ हजार मत कटाइसकेको छ।

मधेस प्रदेशमा भने रास्वपाले खासै मत ल्याउन सकेको छैन। उसले परम्परागत शक्ति र मधेसको नयाँ शक्ति जनमत पार्टीलाई जित्न सकेको छैन।

जस्तो- सर्लाहीमा रास्वपाले १५ हजार मत कटाएको छ। जबकी कांग्रेसले ४१ र नेकपा (माओवादी केन्द्र)ले ४० हजार कटाएको छ। रौतहटमा पनि रास्वपा आठौं नम्बरमा छ। पहिलो स्थानमा रहेको कांग्रेसले ६५ हजार कटाउँदा रास्वपाले ९ हजार मात्रै कटाएको छ। मधेसका कतिपय जिल्लामा मतगणना भइरहेको छ।

यी जिल्लाहरूमा समेत उसले सामान्य मत मात्रै ल्याएको छ। सुदूरपश्चिम प्रदेशमा पनि उसको उपस्थिति न्यून छ। समानुपातिक मतगणनामा माओवादी केन्द्रसँग प्रतिस्पर्धामा रहेको रास्वपाले यो प्रदेशका ८ मध्ये कुनै जिल्लामा माओवादी केन्द्रलाई जित्न सकेको छैन।

जस्तो, अछाममा समानुपातिकतर्फ कांग्रेसले ३० हजार मत कटाउँदा रास्वपाले १४ सय मात्रै कटाएको छ। कैलालीमा नागरिक उन्मुक्ति पार्टी पहिलो हुँदा रास्वपा पाँचौं स्थानमा छ।

कर्णालीमा समेत रास्वपा धेरै पछाडि छ। कर्णालीका अधिकांश जिल्लामा रास्वपाले थ्रेस होल्ड कटाउन संघर्ष गरिरहेको एकीकृत समाजवादीलाई समेत जित्न सकेको छैन। जस्तो कालीकोटमा एकीकृत समाजवादी चौथो स्थानमा हुँदा रास्वपाको स्थान सातौं छ।

सुर्खेत र रूकुम पश्चिममा भने रास्वपाले  एकीकृत समाजवादीलाई जितेको छ।

रास्वपाले अहिलेसम्म पाएको मतगणना हेर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने अब रास्वपाले ल्याउने मतको दर बिस्तारै घट्दै जानेछ। यो खबर सेतोपाटी खबर मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *