बालबच्चाले बिजुली पाया हुन्या थियो ‘हाम्रा दिन त यसै बाइगया,

उज्यालो खबर मुख्य खबर

नेपाल विद्युत प्राधिकरण भन्छ– देशमा ९० प्रतिशत विद्युतीकरण भएको छ। बाँकी १० प्रतिशत गाउँ बिजुलीविहीन छन्।

यस्तै एउटा गाउँ हो सुदूपश्चिमको दुर्गम पहाडी जिल्ला बाजुराको विकट स्वामीकात्र्तिक खापर गाउँपालिका वडा नम्बर एकको रुडी गाउँ। यहाँका बासिन्दाले अझै बिजुली बाल्न पाएका छैनन्।

साँझ परेपछि उनीहरूलाई सधैँ पिरोल्ने एउटै कुरा हो रातका लागि उज्यालोको जोहो। उनीहरूले झरो र टुकीको जोहो गर्नु पर्छ।

स्वामीकार्तिक खापरका केही गाउँमा बिजुली पुगेको छ। त्यो उज्यालो रुडीका बासिन्दालाई सपनाजस्तो हुन्छ। आफ्नो गाउँ सधैँ अँध्याराको अँध्यारै छ।

रुडीका बासिन्दा गम्भीर धामी उमेरले ६० वर्ष पूरा भए। आफ्नो गाउँमा बिजुली बत्ती बलेको देख्ने उनको सपना छ। उनलाई लाग्छ– आफ्नो जीवन यसै बित्न लाग्यो, बिजुली आए बालबच्चाले सुख पाउँथे।

बाजुरेली लवजमा उनले भने, ‘हाम्रा दिन त यसै बाइगया, बालबच्चाको भविष्यका लागि गाउँमा बिजुली पुग्या निको हुन्थ्यो।’

गम्भीर दिनभरि भँैसी चराउँछन्। दिनको उज्यालोमा रातको दुःख बिर्से पनि साँझ छिप्पिँदै जाँदा मन खिन्न हुन्छ।

रुविन्द्रा धामीका दुई छोराछोरी स्कुलमा पढ्छन्। गाउँका छोराछोरीले घरमा काम सघाउनु पर्छ। काम गर्ने भनेकै उज्यालोमा हो। घरमा पढ्ने त रातिमात्रै हो। राति उही टुकी वा झरोको भरमा चल्नु पर्छ।

झरो भनेको सल्लाको दियालो हो। सल्लाको एउटै दाउरो धेरै बेरसम्म राँको बलेजस्तो बल्छ।

घरमा झरो बाल्ने ठाउँ एउटै हुन्छ। टुकी पनि धेरै वटा कहाँ हुनु र! फेरि कहिलेकाहीँ त मट्टितेल नै हुँदैन।

रुविन्द्रा भन्छिन्, ‘घरमा झरो एउटै हुन्छ, त्यसले खाना पकाउने कि केटाकेटीलाई पढ्न दिने! टुकी बाल्न सधैँ मट्टितेल हुँदैन, चाहिएका बेला किन्न पाइँदैन।’

घरमा झरो सकिएका दिन छोराछोरीले स्कुलको गृहकार्य पनि गर्न पाउँदैनन्।

धनबहादुर धामीका पनि तीन जना स्कुल जान्छन्। उनका अनुसार कसैको घरमा झरो सकिएका वेला वल्लोपल्लो घरका स्कुलेहरू एक ठाउँमा भेला भएर पढ्छन्।

सल्लाको जंगल पनि नजिकै छैन। झरो खोज्न कम्तीमा तीन घण्टा टाढा पुग्नु पर्छ।

धनबहादुर भन्छन्, ‘सल्लाको झरो ल्याउन तीनचार घण्टा हिँड्नुपर्छ। झरो बचाउन छरछिमेकका केटाकेटीहरू एक ठाउँमा बसेर पढ्छन्।’

झरोले उज्यालो राम्रै दिए पनि त्यसबाट आउने धुँवाको असर हुन्छ। आगो जोगाउनु पर्छ नत्र आगलागीको डर पनि हुन्छ।

एक छात्रा भन्छिन्, ‘गृहकार्य छुटेको दिन स्कुल जान मन लाग्दैन। नेताहरूले हाम्रो गाउँमा पनि बिजुली ल्याइदिए हुन्थ्यो।’

धनबहादुरका अनुसार उनको टोलमा १५ घरपरिवार छन्। ती घरबाट २२ जना केटाकेटी स्कुल जान्छन्। उनीहरू सबैको साझा समस्या हो रातमा उज्यालो पाउन झरोको भर पर्नु।

स्कुलेहरूलाई मात्रै होइन, गृहिणीहरू पनि उत्तिकै समस्या छ। झरोकै भरमा राति अबेरसम्म घरको काम गर्नु पर्छ। बिहान पनि अँध्यारै उठेर गोठको काम गर्नु पर्छ, मोही बनाउनु पर्छ। यी सबै काम झरोकै भरमा गर्नु पर्छ।

स्थानीय बासिन्दा देवकी धामी भन्छिन्, ‘राति ढिलोसम्म र बिहान पनि सबेरै उठेर हामी महिलाहरू थोरै उज्यालोमा काम गर्छौं। हामी त अँध्यारोमै पनि काम गर्न बानी परेका छौँ। स्कुल पढ्ने छोराछोरीलाई पो हैरान छ।’

गाउँका मानिसहरू मोबाइल फोन चलाउँछन्। फोन चार्ज गर्न अर्को गाउँमा जानु पर्छ। गजेन्द्र धामी भन्छन, ‘अहिलेको जमानामा पनि मोबाइल चलाउन बिजुली छैन। एक घण्टाभन्दा धेरै हिँडेर अर्को गाउँमा पुग्नु पर्छ।’

स्थानीय बासिन्दा सक्कवीर धामीका अनुसार २०७४ सालमा स्थानीय तहको निर्वाचनका समय नेताहरूले गाउँमा बिजुली ल्याउने भनेका थिए। केही ठाउँमा त आयो पनि तर रुडीमा अझै आएको छैन।

गाउँमा बिजुलीका केही पोल गाडिएका छन्। कतै त तार पनि पु¥याइएको छ तर पाँच वर्ष भयो, बिजुली आएन।

सक्कवीरले भने, ‘पाँच वर्षअघि चुनाव जितेका नेताहरूले बिजुली ल्याउँछौं भने तर काम पूरा गरिदिएनन्। अहिले जितेका नेताहरूले पनि ल्याउँछौँ भनेका छन्, हेरौं के गर्छन्।’

स्वामीकार्तिक खापर गाउँपालिकाका–१ का वडाध्यक्ष अजय विकले रुडीमा बिजुली पुर्‍याउन काम भइरहेको बताए।

उनले भने, ‘हामीले पहल गरेका छौँ, कार्यपालिकाको बैठक राखेर प्राविधिक इस्टिमेटअनुसार बजेट विनियोजन गरेर काम अघि बढ्छ।’

उनका अनुसार रुडीमा करिब २० वटा पोल चाहिएको छ। घरहरू बीचको दूरी धेरै र विकट भएकाले काममा केही ढिलो भएको हो।

वडाध्यक्ष विकका अनुसार रुडीमा केही महिनामा बिजुलीको उज्यालो पुग्छ। उनले भने, ‘हाम्रो कार्यकालमा जसरी पनि उज्यालो दिन्छौँ।’

नेताहरूले यसो भनेको पनि धेरै भइसक्यो। केही पोल गाडिएका हुनाले रुडीका बासिन्दालाई तै बिजुली आइहाल्छ कि कि भन्ने लागेको छ तर कहिलेसम्ममा भन्ने थाहा छैन।

नेपालमा विद्युत उत्पादनका लागि धेरै सम्भावना छ। जलस्रोतमा धनी भएको हुनाले कम्तीमा ८३ हजार मेगावट विद्युत उत्पादन गर्ने क्षमता छ भनिन्छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालमा २०७८ चैत मसान्तसम्ममा २०५५ दशमलव ७४ मेगावट बिजुली उत्पादन छ। माग भने यो भन्दा कम छ। हाल १८० मेगावाट निर्यात हुँदैछ।

प्राधिकरणले मुलुकमा करिब ९० प्रतिशत विद्युतीकरण भएको जनाएको छ। गत चैत मसान्तसम्ममा ५२ लाख २८ हजार ६१२ ग्राहक छन्।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयको प्रतिवेदन २०७७÷७८ अनुसार देशभरमा करिब ९० प्रतिशत विद्युतीकरण भएको छ। सबैभन्दाम कम कर्णाली प्रदेशमा करिब ४४ प्रतिशतमात्रै र त्यसपछि सुदूपश्चिम प्रदेशमा ७१ प्रतिशत विद्युतीकरण भएको छ।

बाजुरा जिल्ला सुदूरपश्चिम प्रदेशमा पर्छ। 

बाजुरा जिल्ला सुदूरपश्चिम प्रदेशमा पर्छ।  यो खबर सेतोपाटी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *