हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले रुकुम पश्चिमको जिल्ला अस्पतालमा विरामीको सेवा गर्नेछन । अाज देखि एक हप्तासम्म उनले जिल्ला अस्पतालको ओपिडीमा विरामीको उपचार गर्ने भएका हुन ।
हाडजोर्नि तथा नसा सम्बन्धिका विरामीको उपचार, परामर्शका लागि डाक्टर गोविन्द केसी जिल्ला अस्पताल आइपुगेको र अाजबाट उपचार थाल्ने जिल्ला अस्पतालका डाक्टर भिमकान्त जैसीले जानकारी दिए । त्यसका लागि आवश्यक समन्वय र सहजिकरण जिल्ला अस्पतालले गर्ने छ ।
दुर्गममा विरामीको उपचार गर्दै हिड्ने डाक्टर केसी दुई हप्ता रुकुम पूर्व जिल्ला अस्पतालमा उपचार गरेर पश्चिम पुगेका हुन । हाडजोर्नी सम्बन्धिको समस्या भएकालाई उपचारका लागि आउने जिल्ला अस्पतालले आग्रह समेत गरेको छ । त्यहाँ उपचार गरेपछि सल्यान जिल्ला अस्पतालमा अाउने योजना रहेको डाक्टर केसीले बताए ।
आफै औषधी बोकेर, आफ्नै खर्चमा डाक्टर केसी विरामीको उपचारमा हिडिरहेका छन । नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि भन्दै डाक्टर केसीले बेला बेला अनशन गर्ने, सरकारको ध्यानाकर्षण गराउने जस्ता काम पनि गर्दै आएका छन ।
