दाङमा बाढीबाट बस्ती जोगाउन भन्दै खोला थुन्ने प्रयास !

उज्यालो खबर मुख्य खबर

२ जेठ, दाङ । दाङको गढवा गाउँपालिका वडा नम्बर २ मा वर्षायाममा हुने डुबान नियन्त्रण गर्न भन्दै खोलाको प्राकृतिक बहाव नै रोकिने गरी बाँध बाँधिएको छ । विपद पूर्वतयारीको नाममा कोठरी गाउँबाट करिब डेढ किलोमिटर दक्षिणतर्फ जंगल क्षेत्रमा पर्ने गङ्गरे खोलामा बाँध बाँधेर त्यसको बहाव महदेवा गाउँतर्फ सोझ्याइएको छ ।

गढवा गाउँपालिकाको विपद व्यवस्थापनको बजेटबाट जंगल क्षेत्रमा ५० मिटर लामो र ४ मिटर अग्लो बाँध बाँधेर खोलाको बहाव महदेवा गाउँतर्फ सोझ्याएको पाइएको स्थानीय समाजसेवी खगेश्वर शर्माले जानकारी दिए । त्यसको जानकारी पाएलगत्तै आफूहरु बाँधस्थलमै पुगेर निरीक्षण गरेको र गाउँपालिकालाई काम बन्द गर्न भनेको उनले बताए ।

चुरे क्षेत्रबाट निस्किने गङ्गरे खोला उत्तरतर्फ बग्दै पचाहा, कोठरी, खौराहा र मन्द्रेनी खोलामा बाँडिएको छ । ती खोलाहरुको पानी राप्ती नदीमा मिसिन्छ । हिउँदमा सुक्खा हुने र वर्षामा उर्लिने भेलका कारण ती खोलाले पचाहा, कोठरीका साथै बघमरुवा, डाँडागाउँ र महदेवाको बड्का गल्लीका बस्ती बर्सेनि डुबानमा पर्दै आएका छन् ।

कोठरी र पचाहाका बासिन्दाले वर्षामा आफ्नो गाउँलाई जोगाउन भन्दै बाँध बाँधेर खोलाको बहाव महदेवा गाउँतर्फ सोझ्याइदिएका हुन् ।

यो कार्यको महदेवावासीले विरोध जनाएका छन् । ‘पहिले खोलाको बाढी पचाहा, कोठरी र महदेवा गरी तीन तिर बाँडिन्थ्यो । अहिले पचाहा र कोठरीतर्फ जानबाट रोकेर खोलालाई महदेवातिर सोझ्याइदिएपछि हामीले विरोध गरेका हौं,’ महदेवा गाउँ सुधार समितिका अध्यक्ष जनकमान चौधरीले भने ।

गत वर्ष मन्द्रेनी र खौराहा खोलामा आएको बाढी वस्तीमा पस्दा महदेवा र डाँडागाउँका सयौं घर डुबानमा पर्नुका साथै धानबालीमा पनि ठूलो क्षति पुगेको थियो । झण्डै एक महिनासम्म गढवा–कालाकाटे हुलाकी सडकखण्डमा यातायात सेवा पनि अवरुद्ध भएको थियो । महदेवा–सिसहनियाँ जोड्ने पक्की पुल र नमूना प्राविमासमेत बाढीले क्षति पुर्याएको थियो ।

‘तीन तिर बाँडिएको खोलाको बाढीले त महदेवातिर त्यत्रो क्षति पुर्याएको थियो भने अहिले सबै महदेवातिरमात्रै सोझ्याइदिँदा वर्षामा झन् कति ठूलो क्षति होला ?’ स्थानीय पोषणराज शर्मा भन्छन् ।

वडा अध्यक्ष भन्छन्– बाँधलाई भत्काउनुपर्छ

गढवा–कालाकाटे सडकखण्डमा दर्जन बढी खहरे खोलाहरु पर्दछन् । हिउँदमा सुक्खा हुने ती खोलाहरु वर्षामा भने उर्लिंदो भेलका कारण डरलाग्दा हुन्छन् । ती खोलाहरुबाट वस्ती जोगाउनु चुनौतीपूर्ण हुने गरेको छ ।

त्यसैले प्रभावित क्षेत्रका बासिन्दाको माग अनुसार पालिकाले खोला नियन्त्रणका उपाय अपनाउँदै आएको छ । तर प्रभावकारी हुन सकेको छैन । पछिल्लो पटक कोठरी र पचाहा गाउँका बासिन्दाले वडा नम्बर २ का सदस्य ओमप्रकाश चौधरीसमेतको संलग्नतामा डोजर लगाएर खोलामा बाँध बाँधेको स्थानीयको भनाइ छ ।

गढवा गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर २ का अध्यक्ष भक्तु चौधरीले आफूलाई थाहै नदिई खोलामा बाँध बाधिएको भन्दै त्यसलाई भत्काइने बताए । ‘वस्तीलाई डुबानबाट जोगाउन जरुरी छ, तर त्यो तरिका भएन,’ उनले भने, ‘आफूखुसी बनाइएको त्यो बाँधलाई भत्काउनुपर्छ ।’

ढुंगा, गिट्टी र माटोको अग्लो ड्याम बनाएर खोलाको बहाव महदेवा गाउँतर्फ सोझ्याइदिएको सूचना पाएपछि महदेवावासी बाँधस्थलमा पुगेर विरोध जनाएका थिए । उनीहरुको विरोधपछि अहिले बाँध बनाउन रोकिएको छ । ‘हामी हेर्न जाँदा करिब ५० मिटर लामो र ४ मिटर अग्लो बाँध बनाइसकेको पायौं,’ महदेवाका समाजसेवी खगेश्वर शर्माले भने, ‘त्यो काम तुरुन्त रोक्न हामीले गाउँपालिका अध्यक्ष र वडा अध्यक्षको ध्यानाकर्षण गराएका छौं ।’

अहिले बनाइएको बाँध भत्काउनुपर्छ र पहिले खोला जस्तो अवस्थामा थियो, त्यस्तै अवस्थामा रहन दिनुपर्छ भनेर गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलसँग भनेको शर्माले बताए ।

कोठरी र पचाहा गाउँका बस्ती जोगाउन भन्दै बाँधिएको बाँधको महदेवा गाउँवासीले विरोध जनाएपछि गाउँलेहरुबीच तनाव बढ्ने चिन्ता छ । महदेवा निवासी पोषणराज शर्मा भन्छन्, ‘खोला नियन्त्रणको नाममा हामी गाउँले–गाउँलेबीच द्वन्द्वको अवस्था सिर्जना गरिदिनु दुःखद छ ।’ उनले पनि खोलाको प्राकृतिक बहाव रोक्दा महाविपत्ती आउन सक्ने भएकाले बाँध भत्काउनुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष पोख्रेलले खोलाको प्राकृतिक बहाव नियन्त्रण हुने गरी बाँध बाँधिएको भन्ने जानकारी रहेको बताए । खोलालाई थुन्न नभई गाउँलाई जोगाउने काम गर्नका लागि बजेट दिएको बताउँदै उनले भने, ‘डुबान कटान नियन्त्रणको माग र अहिले बनाइएको ड्यामले बढाएको चिन्ता दुवै सम्बोधन हुने गरी काम गर्छौं ।’

गढवा गाउँपालिकाको विपद व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका ३ नम्बर वडा अध्यक्ष तुलसीराम अधिकारीले पनि आफूलाई जानकारी नै नदिइ खोलामा बाँध बाँधिएको बताए ।

बाढीका कारण वस्ती डुबानमा पर्नुको प्रमुख कारण खोला अतिक्रमण पनि हो । पचाहा, कोठरी र महदेवाको डाँडागाउँमा कतिपय घर खोलाको बगर क्षेत्रमा बनेका छन् । ‘पहिले खोला बग्ने ठाउँ अहिले घडेरीको रुपमा किनबेच भइरहेको छ । त्यहाँ घर बनाएर मानिसहरु बसिरहेका छन्,’ ‘त्यसैले पनि बाढीले बढी क्षति त्यहीँ पुर्याउने गरेको छ,’ अर्का एक स्थानीयले भने, ‘खोला बगरको ऐलानी जग्गा कब्जा गर्दै घर बनाउने काम रोक्न पहिलेका जनप्रतिनिधिहरुले चासो नदिँदा वर्षामा बिजोग हुने गरेको छ ।’

खोलाहरुबाट ढुंगा, गिट्टी उत्खनन् गर्न बन्देज लगाइएको छ । त्यसैले खोलाको सतह बढ्दै गएर गाउँसँग बराबर भएकाले पनि खोलाको बाढी सबै वस्तीमा पस्ने गरेको छ ।

अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *