पशुपति क्षेत्रमा शिवरात्रि मनाउन आएको केही भारतीय बाबाले इन्टरनेट माग गरेकोप्रति पशुपति क्षेत्र विकास कोषले असहमति जनाएको छ । धार्मिक ध्यान तथा तपस्याका लागि आएका बाबाहरूले इन्टरनेट चलाउन माग गर्नु नाजायज रहेको भन्दै कोष असहमत भएको हो ।
फ्री इन्टरनेट दिँदा सुरक्षा चुनौती र विकृति बढ्ने कोषको धारणा छ । कोषसँग केही बाबाले फ्री इन्टरनेट सेवा पनि हुनुपर्ने माग गरेका थिए । आफूहरूले सामाजिक सञ्जालसमेत प्रयोग गर्ने बताउँदै उनीहरूले इन्टरनेट भए समय कटाउन सहज हुने बताउँदै कोेषलाई इन्टरनेट राख्नसमेत माग गरेका थिए ।
तर, धार्मिक क्षेत्रमा इन्टरनेट राख्दा राम्रो नहुने भएकाले त्यस्ता माग पूरा नहुने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । ‘बाबाहरू विभिन्न प्रकारका हुन्छन्, ध्यान, तपस्या र धार्मिक प्रवचन सुन्ने ठाउँमा इन्टरनेट माग गर्नु राम्रो होइन,’ उनले भने, ‘साधुको चरित्रभित्र त्यो पर्दैन ।’शिवरात्रिभर पशुपति क्षेत्रमा फ्री इन्टरनेट जडान गरिदिने इन्टरनेट सेवाप्रदायक कम्पनी तयार भए पनि कोष त्यसमा सहमत नहुने प्रवक्ता अधिकारीको भनाइ छ ।