बीमा कम्पनीका घर–घरमा एजेन्ट, अनि ताना–तानमा आम सर्वसाधारण !
बीमा कम्पनीले बीमा गराउने गरेको र दाबी भुक्तानी माग्न जाँदा बिभिन्न बहाना गरि टार्ने, भुक्तानी पाउनु पर्ने सम्झौता बमोजिमको पैसा नदिने गरेको हुँदा बाँके मा बीमा पीडित संघर्ष समिति गठन गरिएको छ ।
दाबी भुक्तान लामो समयदेखी नभएको, पोलिसी निरन्तर रोकिएर विभिन्न कम्पनीबाट ठगिएको भन्दै पीडितहरु कोहलपुरमा भेला भई आज जिआर भुषालको नेतृत्वमा ५ सदस्य संघर्ष समिति गठन गरिएको छ । यस्तै सदस्यहरुमा एम डि कडेल, दिपेन्द्र शाही, हरिहर भण्डारी र गंगा भण्डारी रहनु भएको छ ।
जिवन तथा निर्जिवन बीमा कम्पनीले ललाइ फकाइ बीमा गराउने गरेको र दाबी भुक्तानी माग्न जाँदा बिभिन्न बहाना गरि टार्ने, भुक्तानी पाउनु पर्ने सम्झौता बमोजिमको पैसा नदिने गरेको, समयमा भुक्तानी नगरी झुलाएर ब्याज सुविधा नदिएको, कोभिड बीमा दाबी भुक्तानी नदिएर झुलाएको लगायतका विभिन्न समस्या लिई पीडितहरु संघर्ष समिति बनाएर बीमा कम्पनीका विरुद्धमा आवाज उठाउने योजनामा पुगेका हुन ।
संघर्ष समितिले यही असोज ९ गते ११ बजे जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने र बीमा कम्पनीहरूलाई भुक्तानी बक्यौता चाँडो चुक्ता गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
आफना मागहरु पुरा नभएमा बीमा कम्पनीहरुमा ताला बन्दी गर्ने, आम सर्वसाधारणलाई बीमा नगर्न आह्वान गर्ने गरी थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै जाने संघर्ष समितिले निर्णय पनि गरेको छ ।