धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग अगाडि बढिसकेकाले निर्वाचन एक दिन पनि तलमाथि नसर्ने बताएका छन् । धनुषा, मिथिला नगरपालिका वडा नं ७ ढल्केवरमा सङ्घीय सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित नेपालको पहिलो ४०० केभी सबस्टेशन तथा विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको २२०/१३२ केभी सबस्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘प्रदेश नं २ मा वैशाख १७ गते नै चुनाव हुने भएकाले चुनावको तयारीमा लाग्नुहोस् ।’

प्रधानमन्त्री ओलीले तराई –मधेशमा केही समूहले आफूलाई मधेस विरोधी भनेर प्रचार गरिएकामा पनि आपत्ति जनाए । “केपी ओलीलाई मधेश विरोधी भनेर प्रचार गर्नेहरुले ती मधेशप्रेमी मधेशका गरिब, विपन्न दलित समुदायका डोम, चमार, दुसाध र खत्वेका बच्चाबच्चीलाई काखमा बोक्न सक्नुहुन्छ ? सक्नुहुन्छ भने लु हेरौंँ त कत्तिको मधेशप्रेमीहरु हुनुहुँदोरहेछ ।”
प्रधानमन्त्रीले आफ्नो सरकारले तराई– मधेशमा बाटो, ढल र सिञ्चाइका आयोजना बनाएको बताउँदै खेतलाई सिञ्चित गर्न पहाड छेडेर कोशी ल्याइने जानकारी दिए । उनले पुराना दिन याद गर्दै भने, “यही ढल्केवरबाट जनकपुर पुग्नका लागि खाल्डाखुल्डी सडकबाट दुई घण्टा लाग्थ्यो भने अहिले जनकपुर–ढल्केबर ६ लेनको चिल्लो सडक बनेको छ ।” प्रधानमन्त्री ओलीले अब केही दिनपछि जनकपुर–जयनगर रेल सञ्चालन गर्नका लागि आफैँ आउने बताउँदै भने, “तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठकै पालामा खरीद गरिएका दुईवटा रेल भित्रिसकेकाले अब छिट्टै सञ्चालन हुने तयारी हुँदैछ ।’
प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले ढल्केवर सबस्टेसन हाल सञ्चालनमा रहेकामध्ये सबैभन्दा ठूलो भएको जानकारी दिए । सबस्टेसन जिआईएस प्रविधियुक्त स्वचालित छ । “पूर्वपश्चिम र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन ढल्केवरमा चार्ज हुन्छ”, तिम्सिनाले भने, “४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् पनि ढल्केवरमा चार्ज हुन्छ ।”
प्राधिकरणले सुख्खायाममा नेपालमा विद्युत् उत्पादन कम भएका अवस्थामा ढल्केवर स्टेशनमार्फत थप १०० मेगावाट विद्युत् ल्याउन सहज हुने बताएको छ । सात सय मेगावाटसम्म भारतबाट आयात गरिँदै आएकामा आवश्यक परे आठ सय मेगावाटसम्म विद्युत् आयात गर्न सकिने छ । चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिकरूपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्न पूर्वाधार तयार भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण प्रसारण निर्देशनालयका अनुसार ढल्केवर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताबमोजिम थप बिजुलीसमेत आयात गर्न सकिन्छ । यस्तै ढल्केवर–मुजफ्फपुर ४०० केभी प्रसारण लाइनबाट थप १०० मेगावाट बिजुली दिन भारत सहमत भएको छ ।