बालबालिकाको आँखामा लाग्ने क्यान्सर जसलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ । यो रोग थोरै बालबालिकामा मात्र देखिने भए पनि समयमै उपचार नभएको अवस्थामा आँखाको ज्योति गुम्ने, आँखा नै निकालेर फाल्नु पर्ने वा रोग पुरानो भएमा मृत्यु समेत हुन सक्छ ।
करिब १५ हजार बालबालिकामध्ये एक जनामा यो रोग लाग्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।
आँखामा लाग्ने क्यान्सर रेटिनोब्लास्टोमा पाँच वर्ष मुनिका बालबालिकाहरूको आँखाभित्रको पर्दामा लाग्ने एक प्रकारको क्यान्सर हो । यसको मूख्य लक्षण भनेको लामो समयसम्म आँखा रातो हुनु तथा आँखाको नानीमा सेतो बत्ती बलेको जस्तो देखिनु हो ।
रेटिनोब्लास्टोमाका कारण आँखा बाङ्गो हुनुका साथै आँखा रातो भइरहने तथा जति उपचार गरेपनि ठीक नहुनु यसका शुरुवाती लक्षणका रुपमा लिने गरिन्छ ।
नेपालको तिलगंगा आँखा उपचार केन्द्रमा वर्षेनि करिब ४० जनाको हाराहारीमा यो रोगका बिरामी आउने गरेका छन् । थोरै संख्यामा मात्र यो रोग देखिएको भए पनि पछिल्लो समय आँखाको क्यान्सर भएका बालबालिकाको संख्या बढ्दै गएको छ ।
अध्ययन अनुसार विश्वमा १५ हजार बालबालकामध्ये एक जनामा यस किसिमको क्यान्सर देखिने गर्छ । नेपालमा भने हरेक वर्ष ४० देखि ५० जना बालबालिकामा रेटिनोब्लास्टो देखिने गरेको छ ।
रेटिनोब्लास्टो आँखाको एउटा जटिल रोग हो । तर प्रारम्भिक अवस्थामा नै यो रोग पत्ता लागेको अवस्थामा आँखाको ज्योतिका साथै ज्यान बचाउन सकिन्छ ।
शुरुवाती अवस्थामा नै रोगको पहिचान भएपछि केमोथेरापी गरेर दृष्टि जोगाउन सकिन्छ । आँखाको ट्युमर सानो वा बेलैमा रोग पहिचान भए ठूलो हानी नहुने गरि लेजर वा अन्य प्रक्रियाले उपचार गर्न सकिने चिकित्सकहरु बताउँछन् ।
तर नेपालमा बालबालिकाको आँखामा यो रोग लागेको लामो समयपछि मात्रै पत्ता लाग्ने गरेको छ ।
रेटिनोब्लास्टोमा एउटा आँखामा मात्र वा दुवै आँखामा पनि देखिन सक्छ । एउटा मात्र आँखामा यो समस्या भएमा निकै ढिलो यसका लक्षणहरु देखिन्छ । तर दुवै आँखामा भयो भने १८ महिनामा नै यसका लक्षण देखापर्ने नेत्रविशेषज्ञहरु बताउँछन् । साथै बालबालिकाको आँखामा सेतो थोप्लो देखिन्छ जसलाई क्याट्स आई भन्ने गरिन्छ ।
रेटिनोब्लास्टोमा लागेपछि आँखामा परिवर्तन देखिए पनि बालबालिकामा अन्य स्वास्थ्य समस्या देखिदैन । जसका कारण बालबालिकाहरु सामान्य जस्तै देखिन्छन् । तर बिस्तारै दृष्टि क्षमता भने घट्दै जाने गर्दछ ।
पाँच वर्षमुनिका बालबालिकाहरूमा पनि आँखाको क्यान्सर हुने गरे पनि रोगबारे जानकारी नहुँदा, अस्पतालसम्मको पहुँच, उपचार खर्च अभावले गर्दा हजारौं बालबालिका क्यान्सरबाट पीडित हुने गरेको चिकित्सकहरु बताउँछन् ।