काठमाडौँ — चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनका लागि सम्झौता गर्ने गृहकार्य भएको छ । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङबीच हुने द्विपक्षीय समझदारीका दौरान यो सम्झौता गर्न लागिएको हो ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उक्त सम्झौतालाई ‘टेक्निकल स्किम अफ क्लास हिमालयन रेलवे’ नाम दिइएको छ । लामो समयदेखि चर्चामा रहेको रेलमार्गको सम्भाव्यता अध्ययनमा अहिलेसम्म कुनै प्रगति नभएपछि चाँडो अध्ययन सक्ने गरी सहमति गर्न लागिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका सहसचिव केशवकुमार शर्माले रेलमार्गलाई गति दिने गरी चिनियाँ प्राविधिक टोलीलाई फिल्डमा पठाउने र विस्तृत अध्ययन गर्दै समयमै काम सक्नेबारे छलफल हुने बताए ।
‘कोभिडले गर्दा काम रोकिएको थियो,’ उनले भने, ‘अहिले कोभिडको समस्या छैन । समय तालिका बनाएर काम गर्ने गरी छलफल हुनेछ ।’ उनले जतिसक्दो चाँडो काम सक्ने गरी सहमति गर्ने तयारी रहेको बताए । अहिलेसम्म यो रेलमार्गमा खासै प्रगति छैन । गत पुसमा भर्चुअल बैठकका क्रममा कोभिडका कारण चिनियाँ प्राविधिक टोलीले उतै बसेर रेलमार्गको टेबलवर्क गर्नेबारे छलफल भएको थियो । त्यसपछि थप केही काम अघि नबढेको भौतिक मन्त्रालय स्रोतले जनायो । कोभिडलाई देखाउँदै चिनियाँ प्राविधिक टोली साइटमा अध्ययन गर्न जान सकेको छैन । अब भने परराष्ट्रमन्त्री वाङको उपस्थितिमा विस्तृत अध्ययनबारे सचिव तहमा सम्झौता हुनेछ ।
यो रेलमार्गको ०७५ मंसिरमा पूर्वसम्भाव्यता अध्ययन भएको थियो । दोस्रो चरणमा विस्तृत अध्ययनको काम अघि बढाउन लागिएको हो । रेलमार्गको अध्ययनबारे २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो । रेलमार्गको काम चाँडै सुरु गर्न दुवै देशका उच्च अधिकारी तयार थिए तर सहमति भएको दुई वर्ष बित्दा पनि कुनै प्रगति भएको छैन । रसुवागढीदेखि काठमाडौंसम्म ७२ किमि दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्छ, जसलाई छेडेर रेलमार्ग बनाउनुपर्ने हुन्छ ।
परराष्ट्रमन्त्री वाङसँग चीन सरकारको ऋण सहायतामा बनिरहेका आयोजनाको निर्माण चाँडो सक्न आग्रह गरिने भएको छ । त्यस्तै चक्रपथ दोस्रो खण्ड विस्तारको डिजाइन छिटो तयार गर्न र टोखा–छहरे सुरुङमार्गको विस्तृत अध्ययन अगाडि बढाउन आग्रह गरिनेछ । चक्रपथ दोस्रो खण्डको अध्ययन गर्न चिनियाँ प्राविधिक टोली गत मंसिरमा काठमाडौं आएको थियो तर टोलीले अहिलेसम्म अध्ययन रिपोर्ट दिएको छैन । अब डिजाइन नै गर्नेबारे छलफल गरिने मन्त्रालय स्रोतले जनायो ।
यो खवर आजको कान्तिपुरमा छ ।