थप तीन कोरोना खोप नेपालमा दर्ताका लागि प्रक्रियामा

मुख्य खबर स्वास्थका कुरा

काठमाडौं- औषधि व्यवस्था विभागमा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेका तीन देशका कम्पनीले खोप दर्ताका लागि निवेदन दिएका छन्। जसमा  भारत, चीन र रुसका कम्पनीले निवेदन दिएका हुन्।

विभागका अनुसार एक कम्पनीको दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने दुई देशका कम्पनीसँग थप कागजात माग गरिएको छ।

औषधि व्यवस्था विभागमा चिनियाँ कम्पनी सिनोफामले उत्पादन गरेको खोप दर्ताका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

‘कम्पनीले सबै डकुमेन्ट बुझाइसकेको छ। तेस्रो चरणको क्लिनिकल ट्रयालको डकुमेन्ट मागेका छौँ, छिट्टै आउँछ होला,’ विभाग स्रोतले भन्यो।

त्यसैगरी रुसले उत्पादन गरेको स्पुतानिक भी खोप दर्ताका लागि विभागमा निवेदन दिएको छ। भारतीय कम्पनी भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनका लागि विभागमा निवेदन दर्ता गराएको छ।

विभागका अनुसार भारत बायोटेकले कोभिसिल्ड दर्ता हुनुअघि नै निवेदन दर्ता गराएको थियो। तर आवश्यक कागजात नबुझाएका कारण कोभ्याक्सिनको दर्ता प्रक्रिया अगाडि बढ्न सकेको छैन। चीन र रुसको कम्पनीबाटै र भारत बायाेटेकले नेपालस्थित एजेन्टमार्फत दर्ताका लागि निवेदन दिएका हुन्।

विभागले पुस २९ गते सूचना जारी गर्दै कोभिड-१९ को खोप प्राप्त गर्न चाहने उत्पादक वा आधिकारिक आयातकर्ताले उत्पादकका तर्फबाट आवश्यक कागजात सहितको विवरण खुलाई आपतकालीन प्रयोगको दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सुचित गरिसेकेको छ।

विभागले कोभिड-१९ खोपको आपतकालीन प्रयोगका लागि दर्ता आवेदन दिँदा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा ‘खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता, २०७७ र कोभिड-१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी’ अवधारणपत्रलाई आधार मान्ने जनाएको छ।

सरकारले कोभिड विरुद्धको औषधि तथा खोपको आपतकालीन प्रयोगका लागि औषधि ऐन, २०३५ को (तेस्रो संशोधन) अध्यादेश जारी गरिसकेको छ। 

उक्त ऐनको दफा ९ (क) मा कोभिड महामारीको रुपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण  वा निर्मुल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको नियामक निकायले दर्ता गरेका औषधि वा त्यस्ता नियामक निकायले अनुमति प्रदान गरेका खोपलाई दर्ता गर्ने व्यवस्था गरिएको छ।

औषधि व्यवस्था विभागमा हालसम्म एउटा मात्र खोप दर्ता भएको छ कोभिसिल्ड। यो खोप अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्च्यिुटले उत्पादन गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *