काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएका ६ सय कार्टुन भन्दा बढी बियर नियन्त्रणमा लिएको छ । बुधबार बजार अनुगमनको क्रममा विभागको टोलीले सिनामंगलबाट २२ लाख ६५ हजार रुपैयाँ बराबरको ६ सय ५७ कार्टुन बियर बरामद गरेको हो ।
विभागका अनुसार बरामल गरिएको बियर काठमाडौं महानगरपालिका–९ सीनामंगलमा रहेको संस्कार ट्रेडर्स प्रालिको काठमाडौं–३२ गैरीगाउँस्थित गोदामबाट तीन सय ५५ कार्टुन रहेका थिए । जसको बजारमूल्य १३ लाख ९० हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, सिनामंगलमै रहेको सिके ट्रेडिङ प्रालिमा पनि विभागले छापा मारेको थियो । जहाँबाट ३०२ कार्टुन बियर जफत गरिएको छ । उक्त बियरको बजार मूल्य करिब ८ लाख ७५ हजार रहेको विभागले जनाएको छ ।
विभागका सहायक सूचना अधिकारीले उपभोग्य अवधि सकिएका टुबोर्ग, मुस्ताङ, कार्ल्सबर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा कम्पनीका बियर जफत गरेको जानकारी दिए । भोजभतेर तथा कतिपय रात्रिकालीन रेष्टुरेन्ट व्यवसायमा यस किसिमका उपभोग्य अवधि सकिएका गुणस्तरहिन बियरको कारोबार हुनसक्ने सूचनाका आधारमा विभागले गोदामहरूको निरीक्षणलाई विशेष महत्वकासाथ अगाडि बढाइरहेको छ ।